‘हली’को मर्मस्पर्शी गीत ‘कहाँबाट ल्याऊँ बाबा’ सार्वजनिक, साउन २२ देखि प्रदर्शनमा
ओम प्रतीकको निर्देशनमा निर्माण भएको नेपाली चलचित्र ‘हली’ को नयाँ भावुक गीत ‘कहाँबाट ल्याऊँ बाबा’ सार्वजनिक गरिएको छ। प्रमोद दीपको शब्द, अभि सुनारको संगीत र अस्मिता अधिकारीको स्वर रहेको गीतले बाबुविहीन छोरीको पीडा र बाबुको साथको तीव्र चाहनालाई हृदयस्पर्शी रूपमा प्रस्तुत गरेको छ।
यसअघि सार्वजनिक गरिएको चलचित्रको प्रमोसनल गीत ‘चानस पाए त’ ले पनि दर्शकमाझ राम्रो प्रतिक्रिया पाएको थियो। बाबुल गिरी र शान्तिश्री परियारको स्वर रहेको उक्त गीतलाई युट्युबमा एक वर्षको अवधिमा २६ लाखभन्दा बढी पटक हेरिएको छ। गीतको भिडियोमा दीपाश्री निरौला, किरण केसी, दीलिप रायमाझी, प्रियंका कार्की र पूजा शर्माले विशेष नृत्य प्रस्तुति दिएका छन्।
छाउपडी प्रथा र किसानको संघर्षलाई मुख्य विषयवस्तु बनाइएको ‘हली’ मा सरोज खनाल, प्रमोद दीप, सुजाता थापा, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, विशाल पहाडी, कमल गाउँलेलगायतका कलाकारको अभिनय रहेको छ। निर्देशक ओम प्रतीक स्वयं पनि चलचित्रमा मुख्य भूमिकामा देखिएका छन्।
जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायू फिल्म्सको सहकार्यमा निर्माण भएको चलचित्रका निर्माता पूजा गुरुङ र जस्मिन श्रेष्ठ हुन्। कार्यकारी निर्मातामा अर्जुन भुसाल तथा सह–निर्मातामा नम्रता भण्डारी रहेकी छन्।
चलचित्रमा राहुल राईको छायांकन, रामप्रसाद चौधरीको सम्पादन तथा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ। चलचित्र आगामी साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।
