नोएडा फिल्म सिटीमा नेपाली चलचित्र ‘गुन्यो चोलो’को विशेष प्रदर्शन
नयाँ दिल्ली: भारतको नोएडा फिल्म सिटीस्थित मारवाह स्टुडियोमा नेपाली चलचित्र ‘गुन्यो चोलो’ को विशेष प्रदर्शन (स्पेशल स्क्रिनिङ) भव्य रूपमा सम्पन्न भएको छ। चलचित्रका नायक नाजिर हुसेन र निर्देशक समुद्र भट्टको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा दिल्ली–एनसीआरमा बसोबास गर्ने प्रवासी नेपाली तथा भारतीय दर्शकहरूले चलचित्र अवलोकन गरेका थिए।नेपाली चलचित्रलाई भारतीय बजारमा विस्तार गर्ने, नेपाल–भारतबीचको सांस्कृतिक तथा चलचित्र सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित भारतस्थित नेपाली राजदूतावासले जुलाई महिनालाई ‘नेपाली चलचित्र महिना’ का रूपमा मनाइरहेको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो। नेपाली राजदूतावास र इन्डो नेपाल फिल्म एण्ड कल्चरल फोरमको सहआयोजनामा इन्टरनेशनल च्याम्बर अफ मिडिया एण्ड इन्टरटेन्मेन्ट इन्डस्ट्रीज (ICMEI) द्वारा मारवाह स्टुडियोमा चलचित्रको विशेष प्रदर्शन गरिएको थियो।कार्यक्रममा इन्डो नेपाल फिल्म एण्ड कल्चरल फोरमले अतिथिहरूलाई पुष्पगुच्छा प्रदान गर्दै स्वागत गरेको थियो। नेपाली चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नेपाली राजदूतावासले चलचित्रका नायक नाजिर हुसेन र निर्देशक समुद्र भट्टलाई सम्मान गरेको थियो। साथै, इन्डो नेपाल फिल्म एण्ड कल्चरल फोरमको अध्यक्षका रूपमा १० वर्ष पूरा गरेको अवसरमा डा. सन्दीप मारवाहलाई सम्मान गरिएको थियो। बलिउडमा लामो समयदेखि लाइन प्रोड्युसर तथा कार्यकारी निर्माताका रूपमा सक्रिय राजेन्द्र घिमिरेलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो।समारोहमा भारतका लागि नेपाली कार्यवाहक राजदूत डा. सुरेन्द्र थापाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा उहाँकी धर्मपत्नी उमा थापा, इन्डो नेपाल फिल्म एण्ड कल्चरल फोरमका अध्यक्ष डा. सन्दीप मारवाह, दक्षिण भारतीय चलचित्र उद्योगका निर्माता रवि कोट्टाराकारा, निर्देशक जनकराज पराजुली, लाइन प्रोड्युसर तथा कार्यकारी निर्माता राजेन्द्र घिमिरे, वरिष्ठ पत्रकार आकांक्षा शाहलगायत चलचित्र तथा सञ्चार क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत डा. सुरेन्द्र थापाले नेपाल सुन्दर चलचित्र छायांकनको गन्तव्य भएको उल्लेख गर्दै नेपाली चलचित्रमार्फत नेपालको संस्कृति, कथा र प्रतिभालाई भारतीय दर्शकमाझ पुर्याउने उद्देश्यले ‘नेपाली चलचित्र महिना’ आयोजना गरिएको बताउनुभयो।इन्डो नेपाल फिल्म एण्ड कल्चरल फोरमका अध्यक्ष डा. सन्दीप मारवाहले विगत १० वर्षदेखि नेपाली राजदूतावाससँग सहकार्य गर्दै नेपाल–भारतबीच कला, संस्कृति र चलचित्र क्षेत्रको सम्बन्ध विस्तारमा काम गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले यस्ता कार्यक्रमले दुवै देशबीचको सांस्कृतिक सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो।दक्षिण भारतीय चलचित्र उद्योगका निर्माता रवि कोट्टाराकाराले चलचित्र क्षेत्रमा सफल हुन निरन्तर मेहनत र धैर्यता आवश्यक पर्ने भन्दै उपस्थित विद्यार्थी तथा नयाँ पुस्तालाई आफ्नो लक्ष्यप्रति प्रतिबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो।निर्देशक जनकराज पराजुलीले नेपाल बलिउड चलचित्रका लागि महत्वपूर्ण बजार भएको उल्लेख गर्दै अब नेपाली चलचित्र पनि भारतका सिनेमाघरमा एकै मितिमा प्रदर्शन हुने वातावरण निर्माण गर्न दुवै देशले सहकार्य गर्नुपर्ने धारणा राख्नुभयो। वरिष्ठ पत्रकार आकांक्षा शाहले नेपाल–भारतबीच चलचित्र र सांस्कृतिक आदान–प्रदानलाई निरन्तरता दिन यस्ता कार्यक्रम अझ व्यापक रूपमा सञ्चालन हुनुपर्ने बताउनुभयो।नायक नाजिर हुसेन र निर्देशक समुद्र भट्टले भारतमा ‘गुन्यो चोलो’को विशेष प्रदर्शन गर्न पाउँदा खुसी लागेको बताउँदै नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन नेपाली राजदूतावासले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।विशेष प्रदर्शनपछि उपस्थित नेपाली तथा भारतीय दर्शकहरूले चलचित्रको कथा, प्रस्तुति र विशेषगरी नायक नाजिर हुसेनको अभिनयको खुलेर प्रशंसा गरेका थिए। दर्शकहरूले ताली बजाएर चलचित्र टोलीलाई सम्मान व्यक्त गर्दै नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहुँच अझ विस्तार हुने विश्वाससमेत व्यक्त गरेका थिए।