‘मास्टर्नी’का दुई नयाँ पोस्टर सार्वजनिक, आमा–छोरीको भावनादेखि अपराध अनुसन्धानसम्मको झल्को
काठमाडौं – आयंका फिल्म्सको ब्यानरमा निर्माण भएको क्राइम–थ्रिलर चलचित्र ‘मास्टर्नी’ का दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ। यसअघि सार्वजनिक नायिका प्रियंका कार्कीको एकल पोस्टरले सकारात्मक प्रतिक्रिया पाएपछि निर्माण टिमले रहस्य र भावनात्मक पक्षलाई झल्काउने नयाँ पोस्टरहरू दर्शकमाझ ल्याएको हो।
सार्वजनिक गरिएको पहिलो पोस्टरले आमा–छोरीबीचको गहिरो भावनात्मक सम्बन्धलाई प्रस्तुत गर्छ। पोस्टरमा प्रियंका कार्कीले अभिनेत्री सिम्रन खड्कालाई अङ्गालोमा बेरेकी देखिन्छिन्। दोस्रो पोस्टरले भने चलचित्रको अपराध र अनुसन्धानसँग जोडिएको कथावस्तुको संकेत गर्छ। यसमा प्रियंका, सिम्रन र अभिनेता प्रमोद अग्रहरी फिचर्ड छन्। पृष्ठभूमिमा हराएका व्यक्तिहरूको विवरण तथा अगाडि ‘नेपाल प्रहरी अपराध घटनास्थल प्रवेश निषेध’ लेखिएको घेरोले कुनै गम्भीर घटनाको आभास गराउँछ। साथै, “उनले अपराध रोजिनन्, उनले त केवल आफ्नी छोरी रोजिन्” भन्ने ट्यागलाइनले आफ्नी छोरीको सुरक्षाका लागि एउटी आमाले चाल्नुपर्ने कठिन निर्णय र त्यसैवरिपरि घुम्ने कथालाई संकेत गर्छ। पोस्टर डिजाइन रोयल भीमसेनले गरेका हुन्।
शुभेन्दु घोषको निर्देशन रहेको ‘मास्टर्नी’मा प्रियंका कार्की, सिम्रन खड्का र प्रमोद अग्रहरीसँगै आर्यन सिग्देल, सरोज खनाल, गौरी मल्ल, ऋचा शर्मा, अनुपविक्रम शाही, रक्षा थापा र दिनेश काफ्लेको अभिनय रहेको छ। चलचित्रको कथा प्रियंका कार्कीले लेखेकी हुन् भने पटकथा शान बस्नेतले तयार पारेका छन्। संवाद लेखनमा प्रियंका र शान बस्नेतले संयुक्त रूपमा काम गरेका छन्।
चलचित्रका निर्मातामा प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्की रहेका छन्। सुरक्षा सिंह मलहोत्रा कार्यकारी निर्माता तथा सिमोस सुनुवार क्रिएटिभ निर्माता हुन्। प्राविधिक पक्षमा युवराज इन्दोरियाको छायांकन र राजा सिंह सिदुको सम्पादन रहेको छ।
‘मास्टर्नी’ आगामी भदौ ५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। निर्माण पक्षका अनुसार चलचित्र नेपालीसँगै अन्य नौ भाषामा पनि एकैसाथ प्रदर्शन गर्ने योजना रहेको छ।