१७ श्रावण २०८३, आईतवार
गेटामा शहीद भीमदत्त पन्तको शालिक अनावरण
आईतवार, श्रावण १७ १२:४८

गेटामा शहीद भीमदत्त पन्तको शालिक अनावरण

कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित मोहना–अत्तरिया ६ लेन सडकसँगै रहेको शहीद संघारी भीमदत्त पन्त सामुदायिक वन परिसरमा आइतबार शहीद संघारी भीमदत्त पन्तको शालिक अनावरण गरिएको छ।
सामुदायिक वन उपभोक्ता समूहले विभिन्न दाताबाट आर्थिक सहयोग सङ्कलन गरी शालिक निर्माण गरेको वनका अध्यक्ष अमृतलाल डगौरा थारुले जानकारी दिए। उनका अनुसार शहीदको योगदानलाई भावी पुस्तासम्म स्मरणीय बनाउन समुदायको पहलमा शालिक निर्माण गरिएको हो।
गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले एक कार्यक्रमका बीच शालिक अनावरण गर्दै सुदूरपश्चिमका ऐतिहासिक व्यक्तित्व शहीद भीमदत्त पन्तको सम्मान गर्न पाउँदा गौरवको अनुभूति भएको बताए। उनले भीमदत्त पन्त जनताको हक, अधिकार र हितका लागि जीवन समर्पित गर्ने योद्धा भएकाले समाज परिवर्तनका लागि लाग्ने सबैले उहाँको विचार र संघर्षबाट प्रेरणा लिनुपर्ने उल्लेख गरे।
नगर प्रमुख भट्टले शालिकको उचाइ सडक सतहभन्दा केही होचो रहेको भन्दै यसको उचाइ बढाउन आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको पनि बताए।
कार्यक्रममा लक्ष्मणराज पन्तले करिब २५ वर्षअघि शहीद भीमदत्त पन्तको नाममा स्थापना गरिएको सामुदायिक वनमा विभिन्न दाताको सहयोगबाट शालिक निर्माण सम्पन्न भएको जानकारी दिए। उनले राना थारु समुदायको बाहुल्यता रहेको क्षेत्र भएकाले स्थानीय पहिचान झल्काउने उद्देश्यले वनको नाममा ‘संघारी’ शब्द जोडिएको बताए।
स्थानीयवासी, जनप्रतिनिधि तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिको सहभागितामा सम्पन्न कार्यक्रममा शहीद भीमदत्त पन्तको योगदानको स्मरण गर्दै उहाँको आदर्शलाई पुस्तान्तरण गर्न यस्ता पहल महत्त्वपूर्ण हुने धारणा व्यक्त गरिएको थियो।

Sharing is caring!

चलचित्र ‘कमला मिस’को ट्रेलर सार्वजनिक
आईतवार, श्रावण १७ १२:४८
‘पार्वती’मा मेरो अभिनय फरक छ : निता ढुङ्गाना
आईतवार, श्रावण १७ १२:४८