डोटीको पूर्वीचौकी गाउँपालिकाद्वारा मास्क, साबुन लगाएतका सामाग्री वितरण
डोटी, झलक पाली
कोरोना भाईरसको सङ्क्रमण रोकथामका लागि डोटीको पूर्वीचौकी गाउँपालिकाले गाउँपालिका भित्रका ७ वटै वडामा आइतबार मास्क, साबुन लगाएत स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने सामाग्रीहरु वितरण गरेको छ ।

गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले प्रत्येक वडाका अध्यक्षहरुमार्फत ति सामाग्री वितरण गरिएको पूर्वीचौकी गाउँपालिका स्वास्थ्य शाखा प्रमूख राजु खड्काले जानकारी दिइन् ।
खड्काका अनुसार सबै वडामा गरी ८ हजार मास्क वितरण गरिएको छ भने १४ पेटी साबुन वितरण गरिएको छ ।
यति बेला बजारमा मास्क अभाव भएकाले स्थानीयको सहज उपलब्धताका लागि गाउँपालिकाले मास्क वितरण गरेको र साबुन पानीले हात धुने सन्देश दिन साबुन वितरण गरिएको स्वास्थ्य शाखा प्रमूख खड्काले बताईन् ।

यसका साथै स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने सर्जिकल मास्क, बुट, एप्रोन, चश्मा, थर्माेमिटर लगाएतका सामाग्रीहरु वितरण गरिएको उनले बताईन् ।

विश्व नै कोरोना भाइरसको चपेटाम परेको चुनौतीपूर्ण समयमा सबैले उच्च सजगता अपनाउन पूर्वीचौकी गाउँपालिका अध्यक्ष बोगटीले सामाजिक सञ्जालमार्फत सार्वजनिक रुपमा अपील समेत गरेका छन् ।

नेपालमा पनि लकडाउन गरिएको यस चुनौतीपूर्ण समयमा सबैले घरभित्रै बस्न, साबुनपानीले हात धुन र सुरक्षित रहन उनले आग्रह गरेका छन् ।
