प्रधानमन्त्रीको राजीनामा माग्नेहरूलाई कारबाही गर : आले
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद प्रेम आलेले सरकार महामारी विरुद्धको लडाइमा सफल भइरहेका बेला प्रधानमन्त्रीको राजिनामा माग्नेहरुमाथि कारवाहीको माग गरेका छन् । पार्टीभित्रैबाट प्रधानमन्त्रीको राजिनामा मागेर अस्थिरता निम्त्याउन खोजिएको भन्दै उनले नेताहरुलाई अनुशासनभित्र राख्नुपर्ने बताएका हुन् ।
डोटी जिल्ला इन्चार्जसमेत रहेका आलेले शनिबार विज्ञप्ति जारी गर्दै ओलीको नेतृत्वमा नेकपाले बहुमत प्राप्त गरेको हुनाले जनादेश विरुद्धका कुनै पनि षडयन्त्र स्वीकार्य नहुने बताएका छन् । नेकपालाई इतिहासमा पहिलोपटक बहुमत दिलाउने र कम्युनिस्ट आन्दोलनलाई एकढिक्का बनाउने काम ओलीको नेतृत्वमा भएको भन्दै उनले अस्थिरताका पक्षधरलाई खबरदारी गर्न कार्यकर्तालाई आह्वान गरेका छन् ।
आलेले भनेका छन्–जसले यो मुलुकमा मुर्छित सपना ब्युँताउँदै देशलाई समृद्धिको बाटोमा अघि बढाउँदैछ, महामारी नियन्त्रणमा सफलता पाउँदैछ, त्यही नेतृत्वविरुद्धका कुप्रचार र अस्थिरताका चलखेल परास्त हुनेछन् । मुलुकको भलो नचाहने अस्थिरताका खेलाडीहरुको चंगुलमा नफस्न म मुख्य नेताहरुलाई आग्रह गर्दछु ।’
सरकारका कमी कमजोरी भए सम्बन्धित ठाउँमा छलफल गर्नुपर्ने भन्दै उनले आलोचनाका नाममा प्रधानमन्त्रीविरुद्ध व्यक्तिगत कुण्ठा पोख्ने काम नगर्न आग्रह गरेका छन् ।
बामदेव गौतमलाई भावी प्रधानमन्त्रीमा पार्टीले अघि सारे सिंगो पार्टीले साथ दिने भन्दै उनले अहिले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै निर्वाचित पद छाड्नुपर्ने कुनै गल्ती नगरेको बताएका छन् ।
आलेले भनेका छन्, ‘सरकारमाथि भइरहेका अनावश्यक टिका टिप्पणीलाई यथासिघ्र रोकौं । सरकारका कमजोरी छन् भने सम्बन्धित ठाउँमा समीक्षा गरौं ।साभर अनलाइन खबर
