डडेल्धुरा अस्पतालमा स्थापना गरिएको पीसीआर मेसिनको उद्घाटन
ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूर पश्चिम समाज अमेरिकाद्धारा डडेल्धुरा अस्पतालमा स्थापना गरिएको पीसीआर मेसिनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई टेलिफोन मार्फत सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति देउवाले डडेल्धुरा अस्पतालमा स्थापना गरिएको पीसीआर मेसिनको स्थापनाले कोरोना परीक्षणबाट बञ्चित सुदूरपश्चिमका सात वटा पहाडी जिल्लाका बासिन्दाका सुबिधा पुग्ने विश्वास व्यक्त गरे ।
जनसहभागितामा सम्पन्न यो अभियान नेपालकै लागि एउटा एउटा उदाहरणीय कार्य हो, देउवाले भने, डडेल्धुरा अस्पतालमा पीसीआर मेसिन स्थापनाका लागि ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूर पश्चिम समाज अमेरिकाले थालेको अभियान सफल भएकोमा म अत्यन्त खुशी भएको छु ।
पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले जनसहभागितामा डडेल्धुरा अस्पतालमा स्थापना गरिएको पीसीआर मेसिन नेपालकै लागि उदाहरणीय कार्य भएको बताएका छन् ।पूर्व प्रधानमन्त्री देउवाले पीसीआर मेसिन स्थापनाका लागि देश विदेशबाट सहयोग गर्नुहुने सुदूरपश्चिमेली दाजुभाई, सुदूर पश्चिम समाज, उद्योगी व्यवसायी, संघसंस्था, पेशाकर्मी लगायत सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
उनले पीसीआर मेसिन सञ्चालनका लागि आवश्यक पर्ने कुनै पनि किसिमको सहयोगको आवश्यकता परेमा त्यसका लागि सदैव, साथ र सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरे ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूर पश्चिम समाज अमेरिकाद्धारा डडेल्धुरा अस्पतालमा स्थापना गरिएको पीसीआर मेसिनका लागि देश विदेशबाट सहयोग गर्ने सबैलाई धन्यवाद दिदै पीसीआर सञ्चालनका लागि आफ्ना तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता गरे ।
सुदूरपश्चिमका सात पहाडी जिल्लाको केन्द्रमा रहेको डडेल्धुरा अस्पतालमा स्थापना गरिएको ल्याबको सोमबार उद्घाटन गरिएको हो। जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेशराज भट्टले रिबन काटेर पिसिआर प्रयोगशालाको औपचारिक उद्घाटन गरेका हुन् ।
जिल्ला समन्वय समितिका प्रमुख भट्टले जनस्तरबाट संकलित रकमबाट एक महिनामै मेसिन खरिद गरी संचालनमा ल्याउनु निकै प्रसंसनीय कार्य भएका बताए।
उनले यति छोटो अबधिमा प्रयोगशाला स्थापना गर्न सफल भएकोमा ह्युमानिटी फाउण्डेसन, सुदूर पश्चिम समाज र देशविदेशबाट सहयोग गर्ने संघसंस्था र व्यक्तिहरुलाई धन्यवाद दिदै जिल्ला समन्वय समिति प्रमुख भट्टले आफ्नो जन्मभूमिमा बिपत्ति तथा समस्या पर्दा सुदूरपश्चिमबासीहरु एक ढिक्का भएर काम गर्ने सन्देश विश्वभरी दिएको बताए ।
ह्युम्यानिटी फाउण्डेसन नेपाल र सुदूरपश्चिम समाज अमेरिकाको पहलमा जनस्तरबाट चन्द संकलन गरिएको रकमबाट उक्त पिसिआर ल्याब स्थापना गरिएको हो। अस्पतालमा जडान गरिएको पिसिआर मेसिनबाट शुक्रबारदेखि नियमित कोरोना भाइरसको परीक्षण थालिएको थियो।
पिसिआर स्थापनाका लागि हालसम्म १ करोड ६ लाख ६७ हजार ५ सय ९५ रुपैयाँ खर्च भएको फाउण्डेसनले जनाएको छ। उक्त मेसिन स्थापनका लागि हालसम्म विभिन्न दाताहरुबाट ९७ लाख संकलन भएको छ। प्रतिवद्धता भएको रकम संकलन हुन बाँकी रहेको फाउण्डेनसले जानकारी उद्घाटन कार्यक्रममा दिएको छ।
उद्घाटन कार्यक्रममा फाउण्डेसनका अध्यक्ष श्याम तायलसहितको टिम उपस्थित भएको थियो। जनसहभागितामा सम्पन्न उक्त अभियान नेपालकै लागि एउटा उदाहरण भएको भन्दै सम्पूर्ण सहयोगीहरुलाई फाउण्डेसनका अध्यक्ष तायलले आभार व्यक्त गरे ।
उनले छोटो समयमै प्रयोगशाला स्थापना गरेर सुदूरपश्चिमबासीले नेपालमै उदाहरणीय काम गरेको समेत बताए। सबै एक ढिक्का भएर अघि बढे हरेक काम समयमै सम्पन्न हुने उनको भनाइ थियो।
उद्घाटन कार्यक्रममा अमरगढी नगरपालिका नगरप्रमुख विशेश्वरप्रसाद ओझा, परशुरामका प्रमुख भीमबहादुर साउँद, अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्ट र नवदुर्गाका अध्यक्ष कविन्द्र विष्टले मेसिन संचालनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । अन्य तहका प्रमुखहरुले पनि यसअघि नै सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका छन्।
फाउण्डेसन र जनस्तरबाट आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै स्थानीय तहका प्रमुखहरुले उद्घाटन कार्यक्रममा मेसिन संचालन र व्यवस्थापनमा सहयोग गर्ने बाचन व्यक्त गरे ।
अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाले अस्पतालमा मेसिन स्थापनाका लागि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, संघीय सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, उनकै स्वकीय सचिव हितेश ओझा, ह्युमानुटी फाउन्डेसन नेपाल,सुदूर पश्चिम समाज अमेरिका, डडेल्धुरा जिल्लाका आम नागरिकहरुको हौसला र विभिन्न सहयोगी दाताहरुको सहयोगले स्थापना गरी संचालनमा ल्याउन सकिएको बताए।
ह्युमानिटी फाउण्डेसनका संस्थापक सदस्य प्रा. डा. हेमराज पन्तले नागरिकस्तरबाट चन्दा संकलन गरी स्थापना गरिएको प्रयोगशालाले विपत्तिको बेला सरकारको मुख ताकेर बस्ने भन्दा पनि नागरिकका तर्फबाट पनि जिम्मेवारी निर्बाह गर्नुपर्छ भन्ने सन्देश दिएको बताए ।
कार्यक्रममा ह्युमानिटी फाउण्डेसनका महासचिव दीर्घराज उपाध्यायले सुदूर पश्चिम समाज अमेरिकासंगको सहकार्य र साझेदारीमा विश्वका बिभिन्न मुलुकमा रहेका सुदूर पश्चिमेली अगुवा र सुदूर पश्चिम समाजको सहयोगमा डडेल्धुरामा पीसीआर स्थापना भएको बताए ।
उनले पीसीआर मेसिन स्थापनाका लागि देश विदेशबाट सहयोग गर्ने संघसंस्था, पेशाकर्मी, व्यवसायी लगायत सबैलाई धन्यवाद दिए ।
अस्पतालले ह्युमानिटी फाउण्डेसन नेपाललाई कदरपत्र प्रदान गरेको छ। साथै फाउण्डेसनले पनि सहयोग गर्ने दाताहरूलाई प्रमाणपत्र दिएको छ।
अहिले डडेलधुरा अस्पतालका प्रयोगशाला प्रमुख इश्वरी भुसालको नेतृत्वमा ६ जनाको टिमले कोरोना परीक्षणमा खटिएको छ । ल्याब सञ्चालनका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालका प्रयोगशाला इन्चार्ज रमेश शाही, जिल्ला अस्पताल बझाङबाट नरेश खड्का र काठमाडौंबाट तीनजना यहाँ आएको छन्।
पिसिआर मेसिन स्थापना भएसँगै सुदूरपश्चिमका पहाडी जिल्लाबासीलाई कोरोना परीक्षण गर्न सहज हुने विश्वास लिइएको छ। यो मेसिनले एक सिफ्टमा ९६ जना चार सिफ्टमा तीन सय ८४ जनाको स्वाव परिक्षण गर्नेछ ।
ह्युमानिटी फाउण्डेसन र सुदूर पश्चिम समाज अमेरिकाद्धारा पीसीआर मेसिन स्थापनाका लागि थालिएको अभियानमा अमेरिकामा आर्थिक संकलन अभियान समितिको संयोजकको भूमिका निर्बाह गर्ने समाजका बरिष्ठ उपाध्यक्ष राम बहादुर देउवा र समितिका सदस्य समाजका अध्यक्ष गणेश बिष्ट, महासचिब जीवन बम, सचिब रैभान महरा, र सह कोषाध्यक्ष तारा धामी र अभियानलाई सफल पार्न अहोरात्र खटिएका समाजका कोषाध्यक्ष नविन ओझा,उपाध्यक्ष दान सिंह बिष्ट र सल्लाहाकार समिति सदस्य ममता जोशी प्रति पनि आभार ह्युमानिटी फाउण्डेसनका तर्फबाट आभार व्यक्त गरिएको छ ।
पीसीआर मेसिन स्थापनाका लागि यो अभियानलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्बाह गर्ने सुदूरपश्चिम समाज अमेरिका, सुदूर पश्चिम समाज टेक्सास,गौरा समाज विस्कोन्सिन,सुदूर पश्चिम समाज क्यालिफोर्नियाका अध्यक्ष करन चन्द, सुदूरपश्चिम समाज मेरिल्याण्ड, सुदूरपश्चिम समाज कनेक्टिकट, अन्तर्राष्ट्रिय सुदूरपश्चिम समाज अमेरिकाका सहसंयोजक दिपेन्द्र जोशी, नविन साउँदलाई पनि कार्यक्रममा धन्यवाद ज्ञापन गरिएको थियो ।
ह्युमानिटी फाउण्डेसनले सोमवार जारी गरिएको बिज्ञप्तिमा अमेरिकाबाट पीसीआर स्थापनाको अभियानलाई सफल पार्न अन्तर्राष्ट्रियस्तरमा समन्वयकारी भूमिका निर्बाह गर्ने नेपाली जनसम्पर्क समितिका सभापति आनन्द बिष्ट, अफ्रिकाको नाईजेरियाबाट यो अभियान सफल पार्न अहोरात्र खटिएका गैर आवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष हिक्मत थापा, गैर आवासीय नेपाली संघ युरोपकी महिला संयोजक योगिता थापा (बेल्जियम), गैर आवासीय नेपाली संघ डेनमार्कका सचिव महेश खत्री, सुदूरपश्चिम समाज दक्षिण कोरियाका सभापति बीर बहादुर पाल र कोरियामा आर्थिक संकलन अभियानका संयोजक अग्नी कोईराला, गैर अवासीय नेपाली संघ अष्टे«लियाका पूर्व उपाध्यक्ष स्वतन्त्र प्रताप शाह, जापानबाट सहयोग गर्ने भरत नेगी र आशिष रावल, काठमाण्डौंबाट यो अभियानको नेतृत्व गर्ने फाउण्डेसनका संस्थापक सदस्य अमर बहादुर शाही, कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक प्रशान्त अर्याल, ओलम्पियन तथा किर्तिमानी तेक्वान्दो खेलाडी दीपक बिष्ट, राखेपका क्रिकेटका प्रमुख प्रशिक्षक जगत टमाटा प्रति आभारी व्यक्त गरिएको छ ।
फाउण्डेसनका अध्यक्ष तायलद्धारा जारी बिज्ञप्तिमा डडेल्धुरामा पीसीआर स्थापनाका क्रममा हौसला र साथ दिनुहुने पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा र उहाँका स्वकीय सचिव भानु देउवाप्रति आभारी व्यक्त गरिएको छ ।
डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र उहाँका स्वकीय सचिव हितेश ओझाको सहयोग, समन्वय र साथ प्रशंसनीय छ, बिज्ञप्तिमा भनिएको छ, उहाँहरुको सहयोग र साथका कारण पनि डडेल्धुरामा यति छोटो अबधिमा पीसीआर मेसिन स्थापना भएको हो । उहाँहरु प्रति पनि आभारी छौ ।ह्युमानिटी फाउण्डेसनले मेसिन सञ्चालनमा हालसम्म १ करोड ६ लाख ६७ हजार ५ सय ९५ खर्च भएको जनाएको छ । जसमध्ये फाउण्डेसनले ९६ लाख रुपैया खर्च व्यहोर्नेछ । हालसम्म देशविदेशबाट ९७ लाख रुपैया संकलन भएको छ । केही देश र व्यक्तिबाट प्रतिबद्धता गरिएको रकम प्राप्त हुन बाँकी रहेको फाउण्डेसनले जनाएको छ । प्रदेश नम्बर सातको एकमात्र रङ्गीन राष्ट्रिय दैनिक
