पत्रकार देउवाद्वारा जन्मदिनको अवसर तेजु स्मृति अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोग
नेपाल प्रेस युनियनका नेता तथा नेपाल पत्रकार महासंघ डोटीका पूर्व अध्यक्ष पत्रकार टेकेन्द्र देउवाले तेजु स्मृति अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोग गरेका छन् । उनले आफ्नो जन्मदिनको अवसर पारेर अक्षयकोषमा १३ हजार पाँच सय ५५ रुपैंया सहयोग गरेका हुन् ।
नेपाल प्रेस युनियन डोटीले स्व. पत्रकार तेज बहादुर खड्का (तेजु)को स्मृतिमा अक्षयकोष स्थापना गर्न लागेको हो । डोटी युनियनका संस्थापक अध्यक्ष समेत रेहका पत्रकार खड्का बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोर्टिङ्ग गरेर फर्किने क्रममा बेपत्ता भएका थिए । बेपत्ता भएका खड्काको तीन बर्ष पछि मात्रै कंगाल भेटिएकोमा डिएनए र घटना स्थलमा भेटिएका सामग्रीको आधारमा उनको मृत्यु भएको पुष्टि भएको थियो ।
स्व. पत्रकार खड्का मिलनसार, मेहनती र लोकप्रिय सहकर्मी भएको स्मरण गर्दै देउवाले अक्षयकोष स्थापना गरेर उनलाई अमर राख्ने डोटी शाखाको अभियानलाई सफल पार्न जन्मदिनको अवसरमा सहयोग गरेको बताए ।
युनियनले स्व. संस्थापक अध्यक्ष खड्काको स्मृतीमा अक्षयकोष स्थापना गरी विभिन्न व्यक्ति संघ संस्थाहरुसँग सहयोग आह्वान गरेको शाखाका अध्यक्ष प्रकाश बमले जानकारी दिए । युनियनले अक्षयकोष स्थापना गर्ने निर्णयसँगै सहयोग आह्वान गरेपछि विभिन्न व्यक्तिहरुले सहयोग गर्दै आएको अध्यक्षले बमले बताए ।
शाखाका सचिव पवन महराले अक्षयकोषमा रकम जम्मा गर्ने पत्रकार देउवालई जन्मदिनको शुभकामना सहित धन्यबाद ज्ञापन गरेका छन् । अक्षय कोषमा रकम जम्मा भएपछि स्व. खड्काको नामबाट पत्रकारिता पुरष्कारको घोषणा गरि पत्रकारीता क्षेत्रमा योगदान पु¥याउने पत्रकारहरुलाई सम्मान गरिने बताए ।
स्व. खड्का लामो समय रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र दिपायलमा कार्यरत थिए । उनि लोकप्रिय कार्यक्रम प्रस्तोता थिए । पछिल्लो समय उनि बाजुरामा रहेको रेडियो बुढीनन्दा एफएममा कार्यरत थिए ।
