मंगलवार, आश्विन २० ०९:५३
काठमाडौँ पुगेर पत्रकारको आन्दोलनमा प्रेस युनियन कैलालीको ऐक्यवद्धता
पेशागत सुरक्षाको माग राख्दै काठमाडौँका पत्रकारहरुले सुरु गरेको आन्दोलनमा प्रेस युनियन कैलालीले ऐक्यवद्धता जनाएको छ।
आन्दोलनमा ऐक्यवद्धता जनाउन प्रेस युनियन कैलालीको टोली काठमाडौँको नयाबानेश्वरस्थित सडकमै जारी रहेको पत्रकारको रिले अनसनस्थलमा पुगेको थियो। प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाको नेतृत्वको टोलीले अनसनरत पत्रकारलाई भेटेर आन्दोलनमा ऐक्यवद्धता जनाएको हो।
सो क्रममा अध्यक्ष देउवाले लोकतन्त्र स्थापनाका लागि लडेका पत्रकारहरु पेशागत सुरक्षाका लागि अनसन बस्नुपर्ने बाध्यता अझै कायम रहनु दुःखद रहेको बताए।
हाल विभिन्न सञ्चार माध्यमहरुले कोरोना महामारीको कारण देखाउँदै पत्रकारहरुलाई जागिरबाट निकाल्ने, पारिश्रमिक नदिने, बेतलबी बिदा बस्न बाध्य पार्ने गरेकोमा उनले दुःख व्यक्त गरे। पत्रकारहरुलाई अप्ठ्यारोमा साथ नदिने सञ्चार माध्यमकाविरुद्ध पत्रकारहरु रिले अनसन सुरु गरेका थिए।
