धनगढीमा हावाहुरी पीडितलाई राहत वितरण शुरु
जेठ २३ गते आएको हावाहुरी पिडितहरुलाई धनगढी उप–महानगरपालिकाल राहत वितरण गर्न सुरु गरेको छ ।उप–महानगरपालिकाले मंगलबार देखि राहत वितरण गर्न सुरु गरेको हो । मंगलबार वडा नं १५ का हावाहुरी पिडितहरुलाई उप–महानगरपालिका कार्यालय बाट राहत वितरण भैरहेको छ । रातह बुझ्नेहरुको बिहानै देखि धनगढी उप–महानगरपालिकामा भिडभाड लागेको छ ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले राहत वितरणमा कर्मचारीहरु खटिएको बताए । पिडितको एकिन विवरण संकलन, छानविन लगायतका धेरै प्रकृया पुरा गर्नुपर्ने भएकाले नगद राहत वितरणमा केहि ढिलाई भएको हो नगरप्रमुख वडले भने, हावाहुरी पिडितलाई तत्काल दिनुपर्ने राहत तुरुन्तै वितरण गरेको थियौं । राहतका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छौं नगरप्रमुख वडले भने, प्राप्त राहत बास्तविक पिडित सम्म पु¥याउने काम भैरहेको छ ।
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टले हावाहुरी पिडितको उद्धारमा, राहतमा खटिने सबै प्रति धनगढी उप–महानगरपालिका आभारी रहेको बताईन । नगरस्तरीय बिपद ब्यबस्थापन उप–समितिका संयोजक प्रेमबहादुर विकले धनगढी उप–महानगरपालिका क्षेत्रमा २ हजार ५ सय ४६ जना राहत पाउने बताए । जसमध्य ३ जना पूर्ण क्षति भएका छन् । आंशिक क्षति भएकाहरुले ५ हजार र पूर्ण पूर्ण क्षति भएकाले १० हजार राहत पाउने भएका छन् । बिपद ब्यबस्थापन उप–समितिका संयोजक प्रेमबहादुर विकले जिल्ला बिपद ब्यबस्थापन समितिको निर्णय र मापदण्ड अनुसार राहत वितरण भैरहेको बताए ।
