‘अब निरन्तर फिल्ममै लाग्नेछु’ — महानायक राजेश हमाल
धनगढी, जेठ १४ —विवेक नागरी
नेपाली चलचित्रका महानायक राजेश हमालले अबका दिनहरूमा आफू फिल्म क्षेत्रमा निरन्तर सक्रिय रहने घोषणा गरेका छन्। बुधबारबार धनगढीस्थित एसटीएस सिनेमा हलमा नेपाली फिल्म *‘नरसिंहः अवतार’को प्रदर्शनी तथा दर्शक अन्तरक्रियाको क्रममा उनले यो कुरा स्पष्ट गरेका हुन्।
दर्शकहरूसँग सिधा संवाद गरेपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै हमालले भने,”अबको यात्रामा म निरन्तर रूपमा फिल्ममा देखिँदै जानेछु।”
दुई दशकभन्दा लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा अमिट छाप छाडेका हमाल पछिल्ला केही वर्ष यदाकदा फिल्ममा देखिए पनि पूर्ण रूपमा सक्रिय थिएनन्। तर ‘नरसिंहः अवतार’*मार्फत उनले पुनः दमदार उपस्थित जनाएका छन्।
यस चलचित्रको निर्देशन दिवाकर भट्टराईले गरेका हुन् भने प्रमुख भूमिकामा राजेश हमाल, राज कटवाल, सनिशा भट्टराई प्रकाश कुँवर लगायत छन्। निर्माता छविराज ओझा, सहनिर्माता नरेन्द्र महर्जन र श्रीधर पौडेल समेतको टोली चलचित्रको प्रवर्द्धनका लागि धनगढी आएको थियो।
कार्यक्रममा उपस्थित दर्शकहरूसँगै कलाकार टोलीले सिनेमा हेरेर तिनको प्रतिक्रिया सुने। प्रतिक्रिया निकै उत्साहजनक रहेको भन्दै हमालले सुदूरपश्चिम क्षेत्रको सिनेमा संस्कृति प्रति चिन्ता समेत व्यक्त गरे।
उनले भने,”दुई दशक अगाडि कैलालीमा थुप्रै सिनेमा हलहरू थिए, तर अहिले सुदूरपश्चिममा एउटा मात्र सिनेमा हल बाँकी रहेको देख्दा दुःख लाग्छ।”उनको भनाइले नेपाली चलचित्रमा प्रविधि, वितरण प्रणाली र दर्शक पहुँचसम्बन्धी चुनौतीप्रति पनि गम्भीर संकेत दिएको देखिन्छ।
‘नरसिंहः अवतार’ यही जेठ १२ गतेदेखि देशभर प्रदर्शनमा आएको हो, र प्रारम्भिक प्रतिक्रियाअनुसार फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ।
