जोरायल गाउँपालिकामा ‘जोरायल आइडल’ सम्पन्न
डोटी असार १४ गते ,डोटीको जोरायल गाउँपालिकाले ‘जोरायल आइडल’ सम्पन्न गरेको छ। शनिबार बुडरस्थित रामपुर नमुना माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित सो कार्यक्रममा गाउँपालिकाभित्रका ११ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरू सहभागी भएका थिए।
गाउँ–गाउँमा लुकेर रहेका गायन प्रतिभाहरूको पहिचान, संरक्षण तथा विकास गर्ने उद्देश्यले एकदिने ‘आइडल’ कार्यक्रम सञ्चालन गरिएको हो।
गाउँपालिकाका अध्यक्ष दुर्गा ओझाका अनुसार, गायन तथा नृत्य समेटेर आयोजना गरिएको यस कार्यक्रमले विद्यार्थीहरूको मनोबल उच्च राख्न, कला–संस्कृति जगेर्ना गर्न र साङ्गीतिक प्रतिभाहरूलाई उजागर गर्न मद्दत गर्नेछ। “अहिलेको समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका आइडल कार्यक्रमहरूको चर्चा भइरहँदा हामीले पनि सुदूरपश्चिम डोटीको जोरायलबाट यस्तो प्रयास सुरु गरेका हौं,” अध्यक्ष ओझाले बताए।
त्यस्तै, रामपुर नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक पदमराज भट्टले बालबालिकाका साङ्गीतिक प्रतिभाहरूलाई बाहिर ल्याउन यस्ता कार्यक्रम उपयोगी हुने बताए। उनले भने, “यस्ता कार्यक्रमले बालबालिकाको आत्मबल वृद्धि गर्छ।” साथै, उनले भविष्यमा पनि गाउँपालिकाले यस्ता सिर्जनात्मक कार्यक्रमलाई प्राथमिकतामा राखी निरन्तरता दिन आग्रह गरे।
कार्यक्रममा गायन तथा नृत्यतर्फ गरी १९ जना सहभागी थिए। गायनतर्फ गौरीशंकर माविकी गौरी बोहरा प्रथम र घन्टेश्वर थापा दोस्रो भएकी थिइन्। त्यस्तै, नृत्यतर्फ गौरीशंकर माविकी पवित्रा ओली प्रथम र रामपुर नमुना माविकी हरिना थापा दोस्रो स्थानमा रहेकी थिइन्।
‘जोरायल आइडल’ मा नवप्रतिभाहरूको उत्साहजनक सहभागिता देखिएको थियो।
