धनगढीमा भानुजयन्तीका अवसरमा साहित्यिक–सांस्कृतिक उत्सव सम्पन्न, प्रादेशिक प्रतिभा पुरस्कार र सम्मान वितरण
धनगढी, असार २९ –
आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसरमा सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानको आयोजनामा धनगढीमा भव्य साहित्यिक तथा सांस्कृतिक उत्सव सम्पन्न भएको छ।
कार्यक्रममा प्रादेशिक प्रतिभा पुरस्कार, स्रष्टा सम्मान, कृति लोकार्पण र विविध सांस्कृतिक प्रस्तुति सहित भानुभक्तको योगदानमाथि चर्चा गरिएको थियो।
विशेष समारोहबीच विभिन्न विधामा योगदान पुर्याउने सातजना स्रष्टालाई प्रादेशिक प्रतिभा पुरस्कार प्रदान गरिएको हो।
पुरस्कृत स्रष्टाहरू यसप्रकार छन्:
भाषा: वीरबहादुर चन्द (बैतडी)साहित्य: सह–प्रा. गणेशराज जोशी (दार्चुला)लोकसंस्कृति: यज्ञराज उपाध्याय (अछाम)
लोकगायन: डिक्रा बादी (बझाङ)चलचित्र: संगत थारू (कैलाली)नृत्य: रामबहादुर रावल (डोटी)ललितकला: अमर सुनार (कञ्चनपुर)प्रतिभा सम्मान प्राप्त स्रष्टाहरू:नाट्य: उमेश मायालु (डडेल्धुरा), प्रेम भण्डारी (कैलाली)
चलचित्र: अम्बिका प्रसाद आचार्य (कैलाली)लोक दोहोरी: पदमबहादुर धामी (अछाम)लोकगायन: उमाशंकर जोशी (बझाङ)मातृभाषा चलचित्र: खडक मल्ल (डोटी)चित्रकला: मनिष चौधरी (कैलाली)नृत्य: हेमराज भट्ट (कैलाली)गायन: प्रकाश बहादुर शाह (कैलाली) सम्मानित भएका हुन्।
कार्यक्रममा बोल्दै प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले मौलिक कला, संस्कृति र साहित्यको प्रवर्द्धनका लागि यस्ता सम्मान आवश्यक रहेको बताए। उनले सुदूरपश्चिमका स्रष्टाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान दिलाउने उद्देश्य रहेको स्पष्ट पारे।
सो अवसरमा प्रतिष्ठानले प्रकाशन गरेको अनुसन्धानमूलक कृति ‘सगुन’ (दोस्रो अङ्क) र थारू संस्कृति तथा लोककथाको संग्रह पनि लोकार्पण गरिएको थियो।
लोकार्पण सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का, प्रदेशसभा सदस्य विक्रम धामी, र उपकुलपति जोशीले संयुक्त रूपमा गरेका थिए।
मन्त्री खड्काले स्रष्टाहरूको सम्मानले सिर्जनशीलतालाई प्रोत्साहन गर्ने बताए। उनले प्रदेश सरकार कला, संस्कृति र भाषाको संरक्षण तथा प्रवर्द्धनमा सधैं सहकार्य गर्न तत्पर रहेको स्पष्ट पारे।
कार्यक्रममा सांस्कृतिक प्रस्तुतीहरू, भानुभक्तको कृतित्वमाथिको चर्चा, र साहित्य–संस्कृति क्षेत्रका व्यक्तित्वहरूको उत्साहजनक सहभागिता रहेको थियो।
