अचेत अवस्थामा भेटिएका नरेश सुनारलाई माया मेट्रो हस्पिटलले निःशुल्क उपचारपछि डिस्चार्ज गर्यो
धनगढी,कञ्चनपुरका नरेश सुनारलाई धनगढीस्थित माया मेट्रो हस्पिटलले निःशुल्क उपचार गरी डिस्चार्ज गरेको छ।
शनिवार साँझ कृष्णपुर नगरपालिका–२ वाणीमा अचेत अवस्थामा फेला परेका सुनारलाई स्थानीयवासीले उद्धार गरी वाणी हस्पिटल पुर्याएका थिए। त्यहाँ प्राथमिक उपचारपछि अवस्था गम्भीर देखिएपछि उनलाई थप उपचारका लागि माया मेट्रो हस्पिटल, धनगढी पठाइएको थियो।
माया मेट्रो हस्पिटलका अनुसार सुनारलाई अस्पताल भर्ना गरेपछि तीन दिनसम्म आईसीयूमा राखी निरन्तर उपचार गरिएको थियो। उपचारका क्रममा उनका परिवारजन सम्पर्कमा नआएका र आर्थिक अवस्था कमजोर रहेको पुष्टि भएपछि हस्पिटलले सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पूर्ण उपचार खर्च निःशुल्क व्यहोरेको जनाएको छ।
हस्पिटलले नरेश सुनारको स्वास्थ्यमा सुधार आएपछि उनलाई डिस्चार्ज गरिएको जनाएको छ। अस्पताल प्रशासनले भनेको छ, “हाम्रो संस्थाको उद्देश्य नाफाभन्दा पनि मानवसेवामा जोड दिनु हो। नरेश सुनार जस्ता आर्थिक रूपमा कमजोर बिरामीको सहयोग गर्नु हाम्रो दायित्व हो।”
स्थानीयवासीहरूले पनि माया मेट्रो हस्पिटलको यो कदमको प्रशंसा गरेका छन्। उनीहरूले यस्तो सामाजिक उत्तरदायित्वले अन्य निजी स्वास्थ्य संस्थाहरूलाई पनि समाजप्रति उत्तरदायी बन्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।
