१९औं सुदूरपश्चिम महोत्सव–२०८२ मा रोयल सुट हाउसका प्रबन्ध निर्देशक सुरज बहादुर रैका सम्मानित
धनगढीमा जारी १९औं सुदूरपश्चिम महोत्सव–२०८२मा रोयल सुट हाउसका प्रबन्ध निर्देशक सुरज बहादुर रैका सम्मानित भएका छन्। कैलाली उद्योग वाणिज्य संघ, धनगढी–कैलालीले आयोजना गरेको महोत्सवको विशेष समारोहमा सम्माननीय अर्थमन्त्री रामेश्वर खनालले रैकालाई सम्मानपत्र प्रदान गरेका हुन्।
सम्मानसँगै रैकाको उद्यमशील यात्रा, व्यवसायिक नेतृत्व तथा क्षेत्रीय अर्थ–व्यवसायप्रतिको योगदानको प्रशंसा गरिएको छ। निरन्तर मेहनत, उत्कृष्ट सेवा तथा युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने भावनासहित अघि बढिरहेका रैकालाई आयोजकले ‘सुदूरपश्चिमको गर्व’का रूपमा वर्णन गरेको छ।
युवालाई उद्यममा आकर्षित गर्ने सोच, जोखिम लिन सक्ने क्षमता र समाजप्रतिको सक्रिय सहभागिताका कारण रैका क्षेत्रीय व्यवसायिक नेतृत्वमा द्रुत रूपमा उदाएका व्यक्तित्वका रूपमा चिनिन्छन्। मेहनत र दृढताबाट सम्भव हुने सकारात्मक परिवर्तनको उल्लेखनीय उदाहरणका रूपमा उनको यात्रालाई महोत्सवमा विशेष रूपमा उल्लेख गरिएको आयोजकसमेतले बताएको छ।
सोही कार्यक्रममार्फत १४ जना अन्य व्यक्तित्वहरूलाई पनि विभिन्न क्षेत्रका योगदानका आधारमा सम्मानित गरिएको संघले जनाएको छ।
