१७ बैशाख २०८३, बिहीबार
धनगढीमा शिल्पी थिएटरको नाटक ‘छुटेका सपना’ मञ्चन हुँदै
सोमबार, माघ २६ १४:५०

धनगढीमा शिल्पी थिएटरको नाटक ‘छुटेका सपना’ मञ्चन हुँदै


धनगढी । विगत १९ वर्षदेखि निरन्तर नेपाली रङ्गमञ्चमा सक्रिय शिल्पी थिएटरले किसान, मजदुर तथा आम मानिसका जीवनसंघर्षमा आधारित नाटक ‘छुटेका सपना’ कैलालीमा मञ्चन गर्ने भएको छ।
नाटक माघ २७ गते दिउँसो ४ बजेदेखि ५ बजेसम्म कैलाली बहुमुखी क्याम्पस परिसरमा प्रस्तुत गरिने जनाइएको छ। बत्तीसपुतलीस्थित आफ्नै नाटकघरमा नियमित मञ्चन गर्दै आएको शिल्पी थिएटर काठमाडौंबाहिर पनि निरन्तर नाटक यात्रामा सक्रिय रहँदै आएको छ।
थिएटरका अनुसार ‘छुटेका सपना’ नाटकले किसान, मजदुर र आम नागरिकले भोग्दै आएका दैनिक झमेला, पीडा र संघर्षका कथाहरूलाई केन्द्रमा राखेको छ। समाजका दबिएका आवाज र जनसाधारणका वास्तविक अनुभवलाई मञ्चमार्फत प्रस्तुत गर्ने उद्देश्यसहित नाटक तयार गरिएको जनाइएको छ।
कार्यक्रमको स्थानीय संयोजन सुदूरपश्चिम थिएटरले गरेको हो। आयोजकले नाटक अवलोकन गरी कलाकारहरूलाई हौसला प्रदान गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
नाटकमा पवित्र खड्का, संगीत उराँव, सुशीला लुहार, सम्पदा राई, इच्छा सिंह, कञ्चन दास, झकेन बिसी, रबिन परियार, गोविन्द ओली, अनुप तिमिल्सेना, ज्याक बराल र धनराज सुनारको अभिनय रहनेछ।
नाटकको नाट्य लेखन तथा निर्देशन घिमिरे युवराजले गरेका हुन्।
‘छुटेका सपना’ मुक्त रङ्गमञ्च शैलीमा प्रस्तुत गरिनेछ। खुला स्थानलाई रङ्गमञ्चमा रूपान्तरण गरी दर्शकलाई नाट्य प्रस्तुतिसँग अत्यन्त नजिक राख्ने यो शैली कलात्मक, कम खर्चिलो र संवादमुखी हुने विशेषता बोकेको छ। यस शैलीमा नाटकसँगै दर्शकका अनुभव र कथालाई पनि स्थान दिइने भएकाले पात्रहरूको दुःख र संघर्ष अझ जीवन्त रूपमा प्रस्तुत हुने आयोजकको विश्वास छ।

Sharing is caring!

Latest News

सादगीको सरस्वती पूजा : नवदुर्गा स्कुलका ती दिनहरू
सोमबार, माघ २६ १४:५०
देशभर चर्चा बटुल्दै ‘आबाट आमा’, कलाकार टोली दर्शक भेट्न २७ गते धनगढी आउँदै
सोमबार, माघ २६ १४:५०