सादगीको सरस्वती पूजा : नवदुर्गा स्कुलका ती दिनहरू
विवेक कुमार नागरी( डबल)
धनगढी,आज सरस्वती पूजा आउँदा रङ्गीचङ्गी पण्डाल, ठूला मूर्ति, डिजे र सामाजिक सञ्जालमा छ्यापछ्याप्ती तस्बिर देखिन्छन्। विद्यालयभन्दा बाहिर प्रदर्शन बढी देखिन्छ। तर करिब दुई दशकअगाडि सरस्वती पूजा यस्तो थिएन। त्यो पूजा देखाउने होइन, महसुस गर्ने पर्व थियो आँखाले होइन, मनले मनाइने।
त्यो समय सरस्वती पूजा भन्नासाथ विद्यालयको चौर, कक्षाकोठाको कुनामा सजाइएको सानो वेदी, सेतो कपडा र बीचमा राखिएको सरस्वतीको तस्बिर सम्झनामा आउँथ्यो। न ठूलो बजेट थियो, न बाहिरी व्यवस्थापन। पूजा तयारीको जिम्मा विद्यार्थीहरूकै काँधमा हुन्थ्यो। कक्षाकोठा सफा गर्ने, डेस्क मिलाउने, फूल, धूप, अगरबत्ती जुटाउने सबै काम आफैँ मिलेर गरिन्थ्यो।
हामी नवदुर्गा निम्न माध्यमिक विद्यालय, मोहनाका विद्यार्थी थियौँ। बडहरा मिलनचोक, आदर्श टोल, कटान, भीम बस्ती, अमर बस्ती, भन्सार क्षेत्रलगायतका टोलबाट आएका विद्यार्थीहरू एउटै स्कुलमा पढ्थ्यौँ। विद्यालय केवल पढाइको थलो थिएन, त्यो हाम्रो साझा संसार थियो।
त्यसबेला पूजाको केन्द्रमा मूर्ति होइन किताब, कापी र कलम हुन्थे। ती नै ज्ञानका प्रतीक मानिन्थे। नयाँ कापीमा पहिलो अक्षर लेख्ने चलन थियो। कसैले ‘अ’ लेख्थ्यो, कसैले आफ्नो नाम, कसैले मनमनै भविष्यका सपना। त्यो दिन कक्षा चल्दैनथ्यो, तर पढाइप्रतिको श्रद्धा अझ गहिरो हुन्थ्यो।
पूजा विधि पनि सादा थियो। पुजारीको मन्त्रोच्चारण चलिरहन्थ्यो, विद्यार्थीहरू शान्त भएर हात जोडेर बस्दथे। मोबाइल क्यामेरा थिएन, सेल्फीको हतार थिएन। सबैको ध्यान देवी सरस्वतीमै केन्द्रित हुन्थ्यो। हेमु सरको त्यो भजन त शब्द मात्र होइन, अनुभूति हो।“बुलन्द आवाजमा मेरो घर मेरोद्वारा मेरो परिवार…”भन्दै-भन्दै“जानुपर्छ एकदिन छोडेर…भजन सुन्दा हरेक विद्यार्थीको मन एकछिन रोकिएजस्तो हुन्थ्यो।
चिसोले हात कठ्याङ्ग्रिन्थ्यो, तर मन तातो हुन्थ्यो। सरस्वती पूजाका दिन लगाइने ती आउटड्रेस लुगाहरू केवल कपडा होइनन्, ती हाम्रो बाल्यकालका रङ्ग थिए। आज सम्झिँदा लाग्छ।त्यो समय हामीसँग धेरै थिएन, तर जे थियो, त्यसमै खुसी थियौँ।
विद्यालयका शिक्षकहरू अझै सम्झनामा छन् हेडमास्टर समरबहादुर चौधरी, हेम अधिकारी, केशव पन्त, खडकबहादुर मल्ल सर, कमला म्याडम, माया म्याडम, रोहिणी म्याडमलगायत थुप्रै आदरणीय गुरु–गुरुआमा। समरबहादुर चौधरी सरको त्यो बुलन्द बोलाइ, हेमु सरको कडा तर आत्मीय आवाज हामी विद्यार्थी कतिपय बेला डराएरै बोल्थ्यौँ। तर त्यो डरभित्र पनि सम्मान मिसिएको हुन्थ्यो।
सरस्वती पूजाका दिन स्कुलभित्र धेरै नाचगान हुँदैनथ्यो। त्यो बेला क्यासेट बज्ने सानो डेकमा गीत बजाएर थोरै नाच्थ्यौँ धेरैबेर होइन, सीमित समयका लागि। रमाइलो चाहिँ अरू स्कुलमा बढी हुन्थ्यो। त्यही नाचगान हेर्न हामी स्कुल स्कुल धाउँथ्यौँ। कतिपय साथीहरू फिल्म हेर्न पनि जान्थे।
जोशी टाकिज, चन्दन टाकिज, सरस्वती टाकिज त्यो बेला हाम्रो हातमा पैसा कम हुन्थ्यो, तर मन ठूलो हुन्थ्यो। खर्चभन्दा उत्साह धेरै हुन्थ्यो। प्रतिस्पर्धा थिएन।कसको मूर्ति ठूलो, कसको सजावट राम्रो भन्ने सोचै आउँदैनथ्यो। सबैको उद्देश्य एउटै थियो ज्ञानकी देवीप्रति श्रद्धा।
समय फेरियो। प्रविधि आयो, शैली बदलियो। आज सरस्वती पूजा धेरै रंगीन छ, धेरै देखिने भएको छ। तर प्रश्न उस्तै छ।हामीले सरस्वती पूजा कति मनले मनाइरहेका छौँ?
सायद सरस्वती पूजाको वास्तविक सौन्दर्य त्यही २० वर्षअगाडिको सादगीमै लुकेको थियो।
आज जब मेरै उमेरमा मेरो छोरो स्कुल पढ्दै सरस्वती पूजाप्रति आस्था देखाउँछ, ती दिनहरू आफैँ आँखाअगाडि आउँछन्। यही सम्झनाले आज बिहान म आफू पढेको नवदुर्गा निम्न माध्यमिक विद्यालय पुगेँ। पुराना कक्षाकोठा, आँगन र वातावरणले एकैचोटि सबै स्कुल जीवन सम्झाइदियो। यही ताजगीसँगै मैले मेरा सबै स्कुलका साथीहरूलाई मनमनै सम्झिएँ ती दिनहरूलाई, ती भावनाहरूलाई सरस्वती पूजा केवल पर्व होइन रहेछ,
यो त स्मृतिमा बाँचेको एउटा सुन्दर इतिहास रहेछ।
ती स्कुलका विद्यार्थीहरू आज हामी सबै आ आफ्नै दुनियामा छौँ। कोही कामको व्यस्ततामा छौँ, कोही जिम्मेवारीको चापमा, कोही समयसँग दौडिरहेका छौँ। जीवनले हामीलाई आ आफ्नै बाटोमा पुर्याएको छ। स्कुलका ती दिनहरू भने अब डायरीका पानाजस्तै स्मृतिमा मात्रै बाँचेका छन्।
तर फर्केर हेर्दा लाग्छ हामी जहाँ पुगे पनि, जे बने पनि, हाम्रो आधार त्यहीँ थियो। नवदुर्गा स्कुलको चौर , कक्षाकोठा, गुरुहरूको आवाज र सरस्वती पूजाका ती सादा दिनहरूले नै आजको हामीलाई बनाएको रहेछ। समयले सबैथोक बदलिदियो, तर ती स्मृतिहरूले आज पनि मनलाई उस्तै न्यानो बनाइरहेका छन्।
