जन्मदिनलाई सेवामा रूपान्तरण गर्दै गायक तथा संगीतकार भिम बिसी
धनगढी, चर्चित गायक तथा संगीतकार भिम बिसीले आफ्नो जन्मदिनको अवसरमा धनगढीस्थित मानव सेवा आश्रममा मानवीय सेवा गर्दै मनाएका छन्। जन्मदिनलाई सेवामूलक कार्यमार्फत अर्थपूर्ण बनाउने उद्देश्यसहित उनी आश्रम पुगेका हुन्।
भिम बिसी काठमाडौँमा रहँदा पनि समाजसेवामार्फत नै जन्मदिन मनाउँदै आएका थिए। यसपटक भने आफ्नो जन्मभूमि धनगढी पुगेपछि उनले मानव सेवा आश्रममा रहेका असहाय, बेसहारा तथा मानसिक रूपमा अशक्त व्यक्तिहरूसँग आत्मीय भेटघाट गर्दै बिहानीको खाना खुवाएका छन्।
यस अवसरमा उनले मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएको उल्लेख गर्दै समाजका हरेक व्यक्तिले आ आफ्नो स्थानबाट सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने धारणा व्यक्त गरे। उनले जन्मदिनको समयमा मात्र नभई अन्य आवश्यक समयमा पनि सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
उक्त कार्यक्रममा भिम बिसीसँगै उनकी जन्म दिने आमा, दाजु,भाउजू, भतिजा तथा हृदयसँगैका मित्र एवं पत्रकार विवेक नागरी समेत उपस्थित रहेका थिए। पारिवारिक तथा आत्मीय मित्रहरूको उपस्थितिले कार्यक्रमलाई अझ भावनात्मक र प्रेरणादायी बनाएको हो।
मानव सेवा आश्रमका प्रतिनिधिहरूले भिम बिसीको यस सेवामूलक कार्यको उच्च प्रशंसा गर्दै कलाकारहरू समाजका लागि प्रेरणाको स्रोत बन्न सक्ने बताए।
