देशभर चर्चा बटुल्दै ‘आबाट आमा’, कलाकार टोली दर्शक भेट्न २७ गते धनगढी आउँदै
धनगढी, नेपाली कथानक चलचित्र ‘आबाट आमा’ यतिखेर देशभरका सिनेमा हलहरूमा सफल प्रदर्शन भइरहेका बीच दर्शकहरूको व्यापक चर्चा र सकारात्मक प्रतिक्रियाको केन्द्रमा रहेको छ। आमाको निस्वार्थ माया, त्याग, संघर्ष र परिवारप्रतिको जिम्मेवारीलाई केन्द्रमा राखेर निर्माण गरिएको यो चलचित्रले नेपाली समाजको गहिरो यथार्थलाई पर्दामा जीवन्त रूपमा उतारेको छ।
चलचित्रमा आमाको भूमिकालाई भावनात्मक, संवेदनशील र यथार्थपरक ढङ्गले प्रस्तुत गरिएको छ। सन्तानका लागि आमाले भोग्ने पीडा, मौन संघर्ष र नथाक्ने मिहिनेतलाई कथावस्तुको मूल आधार बनाइएको चलचित्रले दर्शकलाई हँसाउने मात्र होइन, गहिरो रूपमा सोच्न र भावुक बनाउन सफल भएको छ। यही कारणले ‘आबाट आमा’ लाई केवल मनोरञ्जनात्मक फिल्म मात्र नभई सामाजिक सन्देश बोकेको सशक्त कृति मानिएको छ।
मुख्य अभिनेता पल शाह ले आफ्नो करिअरकै परिपक्व र भावनात्मक अभिनय प्रस्तुत गरेका छन्। उनका साथमा विपना थापा, सिम्रन पन्त, उषा उप्रेती तथा प्रदीप राउत लगायत कलाकारहरूको अभिनयले कथालाई अझ प्रभावशाली बनाएको छ। कलाकारहरूको स्वाभाविक अभिनय, संवादको गहिराइ र भावनात्मक दृश्यहरूले दर्शकलाई सुरुदेखि अन्त्यसम्म बाँधेर राख्न सफल भएको देखिन्छ।
चलचित्रले कैलालीसहित विभिन्न स्थानमा दर्शकको उल्लेखनीय उपस्थिति र उत्साहजनक प्रतिक्रिया पाएपछि कलाकारहरूको टोली यतिखेर हल–हलमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट तथा प्रतिक्रिया संकलन गरिरहेको छ। यही क्रममा भोलि धनगढीस्थित एसटिएस सिनेमा र एसके सिनेमा हल मा कलाकार टोली दर्शकहरूसँगै बसेर चलचित्र हेर्ने तयारीमा रहेको छ।
दर्शकसँग प्रत्यक्ष संवाद गर्दै फिल्मप्रतिको अनुभूति बुझ्ने उद्देश्यले गरिएको यो कार्यक्रमले कलाकार र दर्शकबीचको सम्बन्धलाई अझ नजिक बनाउने विश्वास लिइएको छ। निर्देशक चन्द्र पन्त ले चलचित्रप्रति दर्शकले देखाएको माया र समर्थनले आफूहरूलाई थप उत्साहित बनाएको बताउँदै, “दर्शककै प्रतिक्रियाले फिल्मको वास्तविक सफलता मापन हुन्छ,” भन्ने धारणा व्यक्त गर्नुभएको छ।
