कैलालीमा औलो कालाजार नियन्त्रणका लागि विषादी छिट्काव कार्यक्रम सुरु
धनगढी, चैत १६ गते — स्वास्थ्य कार्यालय कैलालीले औलो, कालाजार तथा अन्य किटजन्य रोग नियन्त्रणका लागि विषादी छिट्काव कार्यक्रम सञ्चालनमा ल्याएको छ। जिल्लाका विभिन्न प्रभावित तथा सम्भावित महामारी क्षेत्रहरूमा उक्त कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ।
आर्थिक वर्ष २०८२/०८३ को सुरुआत अर्थात् श्रावण १ गतेदेखि हालसम्म औलो तथा कालाजारका बिरामी देखिएका स्थान वरपर करिब २०० मिटर क्षेत्रभित्र पर्ने घरधुरी, गोठ तथा कटेराको भित्री भागमा विषादी छिट्काव गर्ने कार्य भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
कैलालीका विभिन्न स्थानीय तहमा हालसम्म औलो र कालाजारका १०४ जना बिरामी भेटिएका छन्। सोही आधारमा बिरामी देखिएका घर तथा वरपरका क्षेत्रमा केन्द्रित भई विषादी छिट्काव अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी तथा कार्यक्रम फोकल पर्सन मिनबहादुर धामीले जानकारी दिए।
उनका अनुसार रोगको भार बढी रहेका स्थानलाई प्राथमिकतामा राख्दै कार्यक्रम सञ्चालन गरिनेछ। साथै, बिरामी देखिएका घर वरिपरि विशेष रूपमा स्प्रे गरिनेछ र उक्त कार्यक्रम करिब तीन महिनासम्म सञ्चालन हुने बताइएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर २, पुरानो भान्सा रोडमा एक घरमा बिरामी भेटिएपछि २०० मिटर वरपरका घरहरूमा वडाध्यक्ष धर्मराजको सहकार्यमा सो कार्य अघि बढाइएको हो।
नेपाल सरकारले औलो तथा कालाजार निवारणलाई लक्ष्यका रूपमा अघि सारेको सन्दर्भमा परीक्षणको दायरा विस्तार गर्ने, रोग पहिचान गर्ने, तथ्यांक यकिन गर्ने, बिरामीको उपचार गर्ने, केस–बेस सर्भिलेन्स तथा प्रतिकार्यात्मक गतिविधि सञ्चालन गर्ने कार्यलाई तीव्रता दिइएको छ।
समुदाय स्तरमै महामारीजन्य रोग नियन्त्रण तथा निवारणका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेको धामीले बताए। स्वास्थ्य कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेशमा देखिएका किटजन्य रोगमध्ये एक तिहाइभन्दा बढी भार कैलाली जिल्लामा रहेको छ।
नेपाल सरकारले औलो तथा कालाजार निवारणलाई लक्ष्यका रूपमा अघि सारेको छ।
