भोटेकोशी बाढीपछि भदौ ३० मा हुँदैछ ‘सुदूरपश्चिम गाईजात्रा–२’
धनगढी । भोटेकोशी बाढीका कारण स्थगित भएको ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ यही भदौ ३० गते धनगढीमा आयोजना हुने भएको छ। आयोजक बैजनाथ सञ्चार प्रालिले बुधबार धनगढीमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमको नयाँ मिति सार्वजनिक गरेको हो।
प्राकृतिक विपद्का कारण देश शोकमग्न र विषम परिस्थितिमा रहेकाले यसअघि तय गरिएको कार्यक्रम स्थगित गरिएको र अहिले पुनः आयोजना गर्न लागिएको आयोजक संस्थाकी प्रबन्ध निर्देशक सरस्वतीकुमारी खड्का भट्टले जानकारी दिइन्।
कार्यक्रममा राष्ट्रिय हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल, जोगेन्द्र पानवाला अर्थात् शिवशङ्करप्रसाद रिजाल, मूलासाग अर्थात् सुरेन्द्र केसीलगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहनेछ।
गाईजात्रामा हास्यव्यङ्ग्य नाटक, प्रहसन, कविता, गीत–सङ्गीत, देउडा तथा सुदूरपश्चिमका मौलिक लोक तथा सांस्कृतिक प्रस्तुतिमार्फत समसामयिक सामाजिक विषयमा व्यङ्ग्यात्मक सन्देश प्रवाह गरिने आयोजकले जनाएको छ।
कार्यक्रम मनोरञ्जनमा मात्र सीमित नरहने आयोजकको भनाइ छ। आर्थिक संयोजक शुभेष पाठकका अनुसार लागूऔषध दुर्व्यसन, भ्रष्टाचार, साइबर अपराध, घरेलु तथा महिला हिंसा, बालअधिकार, युवा पलायन र सामाजिक विभेदजस्ता सामाजिक विकृति तथा विसङ्गतिविरुद्ध हास्यव्यङ्ग्यका माध्यमबाट जनचेतना फैलाउने उद्देश्य राखिएको छ।
कार्यक्रमको मुख्य प्रायोजक धनगढीस्थित माया मेट्रो हस्पिटल र प्रायोजक चैतन्य पाठशाला रहेका छन्।
यसैबीच, ‘सुदूरपश्चिम गाईजात्रा–२’ ले मनोरञ्जनसँगै मानवीय सहयोगको सन्देशसमेत दिने भएको छ। टिकट बिक्रीबाट सङ्कलन हुने रकमको २५ प्रतिशत भोटेकोशी बाढीपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गरिने आयोजकले जनाएको छ।
विपद्को पीडामा परेका परिवारप्रति ऐक्यबद्धता जनाउँदै आयोजना हुन लागेको कार्यक्रमले हास्यव्यङ्ग्यमार्फत सामाजिक विकृतिविरुद्ध आवाज उठाउनुका साथै मनोरञ्जन र मानवीय संवेदनालाई सँगसँगै अघि बढाउने आयोजकको विश्वास छ।