२८ भाद्र २०८३, आईतवार
सुदूरपश्चिम कला प्रतिष्ठानको साधारण सभा तथा अधिवेशन सम्पन्न, एक कार्यकालपछि अम्बिका प्रसाद आचार्य पुनः अध्यक्षमा
आईतवार, भाद्र २८ ०७:०१

सुदूरपश्चिम कला प्रतिष्ठानको साधारण सभा तथा अधिवेशन सम्पन्न, एक कार्यकालपछि अम्बिका प्रसाद आचार्य पुनः अध्यक्षमा

सुदूरपश्चिमाञ्चल कला प्रतिष्ठान, धनगढीको पाँचौँ साधारण सभा तथा अधिवेशन शनिबार धनगढीमा सम्पन्न भएको छ। अधिवेशनले एक कार्यकालपछि अम्बिका प्रसाद आचार्यलाई पुनः अध्यक्षमा चयन गरेको छ। कला, साहित्य तथा संस्कृतिको संरक्षण, प्रवर्द्धन र विकासका साथै सुदूरपश्चिमका कलाकार तथा स्रष्टाहरूको हकहितका क्षेत्रमा क्रियाशील प्रतिष्ठानको साधारण सभा तथा अधिवेशनमा कलाकार, स्रष्टा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।प्रतिष्ठानका अध्यक्ष आवेश कुमार चन्दको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ कलाकार तथा शास्त्रीय संगीत गुरु उस्ताद शिवदत्त पन्त प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा राष्ट्रवादी नायक तथा चलचित्र निर्माता, चलचित्र निर्माता संघका निवर्तमान अध्यक्ष एवं चलचित्र कलाकार संघका पूर्व अध्यक्ष नवल खड्का, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ परिषद सदस्य कृष्णा सिराडी तथा प्रतिष्ठानका संस्थापक अध्यक्ष राजकुमार जोशी लगायतको उपस्थिति रहेको थियो।कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष चन्द्र चौधरीले स्वागत मन्तव्य राख्नुभएको थियो भने संस्थाका महासचिव गुणाकर पनेरुले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले सुदूरपश्चिमको मौलिक कला, संस्कृति, भाषा, साहित्य, संगीत तथा चलचित्र क्षेत्रको विकासका लागि कलाकार र स्रष्टाहरूबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।त्यस्तै, सुदूरपश्चिमको मौलिक कला तथा सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउन प्रतिष्ठानले थप प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा समेत जोड दिइएको थियो। कार्यक्रममा विभिन्न विधामा क्रियाशील कलाकार तथा स्रष्टाहरूले आफ्ना अनुभव तथा धारणा राख्दै कला र संस्कृतिको संरक्षणसँगै नयाँ पुस्तालाई यस क्षेत्रमा आकर्षित गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।यसैबीच, अधिवेशनले प्रतिष्ठानको नयाँ कार्यसमितिसमेत चयन गरेको छ। अधिवेशनबाट अध्यक्षमा अम्बिका प्रसाद आचार्य, उपाध्यक्षमा रोशन के.सी., सचिवमा गोविन्द मुखिया र कोषाध्यक्षमा केशव बलायर चयन हुनुभएको छ।त्यस्तै, नवनिर्वाचित कार्यसमितिका सदस्यहरूमा कान्ति गिरी, पार्वती बम, दिपिका शाही, सौगात सुनार, एञ्जल चौधरी र सरस्वती सेठ्ठी रहनुभएको छ।एक कार्यकाल पूरा गरेपछि पुनः नेतृत्वमा फर्किनुभएका अध्यक्ष अम्बिका प्रसाद आचार्यको नेतृत्वमा प्रतिष्ठानले आगामी दिनमा सुदूरपश्चिमको कला, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनका क्षेत्रमा थप प्रभावकारी काम गर्ने अपेक्षा गरिएको छ। स्थानीय कलाकार तथा स्रष्टाहरूलाई प्रोत्साहन गर्ने, मौलिक कला तथा संस्कृतिको संरक्षण गर्ने र प्रदेशको सांस्कृतिक पहिचानलाई राष्ट्रियस्तरसम्म पुर्‍याउने दिशामा नयाँ कार्यसमितिले प्राथमिकताका साथ काम गर्ने अपेक्षा गरिएको छ।सुदूरपश्चिममा कला, साहित्य, संगीत, चलचित्र तथा सांस्कृतिक गतिविधिहरू बढ्दै गइरहेका बेला प्रतिष्ठानको नयाँ नेतृत्व चयनलाई यस क्षेत्रका कलाकार तथा स्रष्टाहरूले समेत सकारात्मक रूपमा लिएका छन्। नयाँ कार्यसमितिले कलाकार तथा स्रष्टाको हकहितलाई केन्द्रमा राख्दै प्रभावकारी कार्यक्रम अघि बढाउने अपेक्षा गरिएको छ।

Sharing is caring!

Latest News

भोटेकोशी बाढीपछि भदौ ३० मा हुँदैछ ‘सुदूरपश्चिम गाईजात्रा–२’
आईतवार, भाद्र २८ ०७:०१
हरितालिका तीजको अवसरमा सशस्त्र प्रहरीद्वारा ५१ स्थानमा सरसफाइ
आईतवार, भाद्र २८ ०७:०१