२९ भाद्र २०८३, सोमबार
सीमा क्षेत्रबाट ३.८५० किलो चरेसजस्तो पदार्थसहित भारतीय आधार कार्डलगायतका कागजात बरामद
सोमबार, भाद्र २९ १०:१७

सीमा क्षेत्रबाट ३.८५० किलो चरेसजस्तो पदार्थसहित भारतीय आधार कार्डलगायतका कागजात बरामद

कञ्चनपुर , सशस्त्र प्रहरी बल नेपालले कञ्चनपुरको पुनर्वास नगरपालिका–११, डोकेबजारस्थित नेपाल–भारत सीमा क्षेत्रबाट चरेसजस्तो देखिने पदार्थसहित विभिन्न महत्वपूर्ण कागजात बरामद गरेको छ।

भदौ २८ गते साँझ करिब ४ः३० बजे सशस्त्र प्रहरी बल नेपाल, बीओपी डोकेबजारबाट खटिएको पाँच जनाको पैदल गस्ती टोलीले सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा बेवारिसे अवस्थामा एउटा झोला फेला पारेको थियो।

शंका लागेपछि झोला चेकजाँच गर्दा चाउचाउको कार्टुनभित्र लुकाएर राखिएको अवस्थामा गाढा खैरो रङको चरेसजस्तो देखिने पदार्थ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद पदार्थको शुद्ध तौल ३ किलो ८५० ग्राम रहेको छ।

यस्तै, झोलाभित्र ईश्वरबहादुर धामीको नाममा जारी नेपाली नागरिकताको प्रमाणपत्र, भारतीय आधार कार्ड, कर्नाटक स्टेटको ड्राइभिङ लाइसेन्स, सोही राज्यको सवारी साधन दर्ता प्रमाणपत्र तथा नेपाली सिमकार्ड लगायतका सामग्रीसमेत फेला परेको प्रहरीले जनाएको छ।

बरामद लागुऔषधजस्तो देखिने पदार्थ तथा अन्य सामग्री आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि प्रहरी चौकी पचगडियामा बुझाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।

Sharing is caring!

Latest News

हरितालिका तीजको अवसरमा सशस्त्र प्रहरीद्वारा ५१ स्थानमा सरसफाइ
सोमबार, भाद्र २९ १०:१७