१४ बैशाख २०८१, शुक्रबार
बझाङमा भयो मागी विवाह दलित र गैर दलित बिच
आईतवार, मंसिर २२ १८:५५

बझाङमा भयो मागी विवाह दलित र गैर दलित बिच

बझाङ – गाडी र घोडा सहितको जन्तीको लावालस्कर खलापाटा गाउँबाट रैकोसीतिर जाँदै थियो । वडाध्यक्ष जयबहादुर मल्ल, गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरू सहित करिब ३ सय गैर दलित जन्तीको लस्कर एकाएक दलित बस्तीतिर मोडियो । बेहुलीघर ध्वजा–पताकाले सिँगारिएको थियो । दुलहीका बुबा रमेश विकले जन्तीलाई टीका लगाइदिए । गाउँका अरू दलितले चिराग बालेर दुलाहा पक्ष र जन्तीको स्वागत गरे ।

दुलाहा थिए स्थानीय गैरदलित समुदायका दीपक बोहरा । दुलहीको माइती घरभित्र वैवाहिक कार्यक्रम हुँदै थियो । आँगनमा जन्ती र दुलही पक्षको रातभर नाचगान र रमाइलो चल्यो । सबै जन्तीले त्यहीँ खाना खाए । त्यो रात दलित बस्तीमै बिताए । जन्तीमध्ये ९५ प्रतिशतभन्दा बढी मानिस दलितको घरमा खाना खाएर त्यहीँ पहिलो पटक सुतेका थिए ।

अन्तरजातीय विवाह गरेका कारण आफ्नो जन्मथलो छाडेर भाग्नुपरेको, हिंसाको सिकार हुनुपरेको घटना थुप्रै छन । झन् बझाङमा त छुवाछूत यतिसम्म व्याप्त छ कि कानुनले दण्डनीय भन्दाभन्दै पनि दलितहरू माथि सार्वजनिक स्थलमै विभेद हुने गरेका छन् जसलाई यहाँको समाजले सामान्य रूपमा लिने गरेको छ । द्यलित सँग प्रेम सम्बन्ध भएका कारण समाज मात्रै होइन परिवारबाटै बहिष्कारमा पर्ने पनि जिल्लामा धेरै छन । परिवार मात्रै होइन, सिंगो समाजले नै स्वीकार गरेर धुमधामका साथ सम्पन्न भएको यो विवाह भने छुवाछूत विरुद्ध नमुना भएको छ । बित्थडचिर गाउँपालिका–९ सुनकुडा, खलापाटाका दीपक बोहराले त्यही वडामा पर्ने रैकोसी गाउँकी रूपाकुमारी विकसँग मागीविवाह गरेको कुराले जिल्ला भरि चर्चा पाएको छ ।

‘सुरुमा त दलितको घरमा जन्ती कसरी जाने होला भनेर अप्ठ्यारो लागेको थियो,’ दीपकका एक छिमेकी केश विष्टले भने, ‘पछि उनीहरू बिहे नै गर्छन् भने हामीलाई जन्ती जान के अप्ठ्यारो भन्ने लाग्यो । गाउँका सबै जन्ती गयौं । घुमधाम सँग विवाह भयो ।’ बेहुलाका बुबा कलकले भने मान्छे मान्छेबीचको विभेद तोड्न आफूले धुमधाम सँग दलितकी छोरीलाई बुहारीका रूपमा भित्र्याएको बताए । ‘जमाना कहाँ पुगिसक्यो । हामी यो जात र त्यो जात भन्दै बसेका छौं,’ उनले भने, ‘हाम्रै पालामा यो अन्धविश्वास हटाउन सकेनौं भने अझै पछि पर्छौं ।’ उनले अन्तरजातीय विवाह भए पनि जन्तीमा गाउँलेको भव्य उपस्थितिले अन्धविश्वासको जरा कमजोर हुँदै गएको आफूले अनुभव गरेको बताए । दुलाहा दीपकले पनि आफूले चाहेको कन्यालाई जीवनसाथीका रूपमा पाउँदा निकै खुसी लागेको बताए । ‘गाउँलेले कुरा काट्छन् कि भन्ने लागेको थियो । तर सबै जन्ती गइदिए । मलाई त निकै खुसी लागेको छ,’ उनले भने ।

सामाजिक विभेद अन्त्यका लागि महत्वपूर्ण भुमिका खेलेको भन्दै बित्थडचिर गाउँपालिकाले यस जोडीलाई सम्मान गर्ने भएको छ । ‘जिल्लामै पहिलो पटक सामाजिक रूपमै स्वीकार गरेर अन्तरजातीय विवाह भएको यो पहिलो पटक हो,’ गाउँपालिकाका प्रवक्ता हर्क बोहराले भने, ‘यसले हाम्रो गाउँपालिकाको इज्जत बढाएको छ ।’ – कान्तिपुरबाट

Sharing is caring!

सुदूरपश्चिम महोत्सव सुरु, पूर्व मन्त्री रावललाई सात बुँदे माग पेश
आईतवार, मंसिर २२ १८:५५
अभिनेत्री रिचा शर्मा बैबाहिक बन्धनमा बांधिन्
आईतवार, मंसिर २२ १८:५५
shares