
बहुप्रकोप पूर्वसूचना प्रणाली रणनीतिक कार्ययोजना मस्यौदा माथि छलफल
धनगढी: कैलालीको धनगढीमा बहुप्रकोप पूर्वसूचना प्रणाली रणनीतिक कार्ययोजना २०८१ को मस्यौदामाथि प्रदेशस्तरीय छलफल सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय धनगढीको आयोजना र प्राक्टिकल एक्सन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सोमबार उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बहुप्रकोप पूर्वसूचना प्रणाली, रणनीतिक कार्ययोजना र पूर्वकार्य प्रोटोकलको महत्वका बारेमा वातावरण तथा इन्जिनियरिङ्ग अनुसन्धान केन्द्रका डा. दिलीपकुमार गौतम र नेपालमा मौसम तथा बाढी पूर्वानुमान र पूर्वसूचना प्रणालीको अवस्थाबारे जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालय अत्तरियाका प्रमुख सञ्जयकुमार शाहले प्रकाश पारेका थिए।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले रणनीतिक कार्ययोजना विज्ञहरूको समूहले बनाएको बताए।विपद्का घटना न्यूनीकरणमा सरकार लागिपरेहको उल्लेख गर्दै उनले समुदाय पनि यसमा चनाखो हुनुपर्नेमा जोड दिए। सबैको सहकार्य र सहयोग मात्रै विपद्का घटना न्यूनीकरण गर्न सकिने मन्त्री सार्कीको भनाइ थियो।
कार्यक्रमका सहभागीहरूले विद्यालयस्तरमा सूचना प्रवाह गर्नुपर्ने, जिम्मेवार निकायलाई स्पष्ट रूपमा तोक्नुपर्ने, तालिम दिने सन्दर्भमा पनि गैरसरकारी संघसंस्थासमेत सहभागी गराउनुपर्नेमा जोड दिएका थिए। बजेट माथिल्लो तहमा मात्रै नभई तल्लो तहमा पनि वितरण भए प्रभावकारी हुने उनीहरूको सुझाव थियो।
बहुप्रकोप पूर्वसूचना प्रणालीबारे समुदायलाई नै बढी जिम्मेवार बनाउनुपर्नेमा समेत उनीहरूले जोड दिएका थिए। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सुशील वैद्यले आएका सुझावहरूलाई कार्यकारी समितिमार्फत् कार्यान्वयका लागि अघि बढाउने बताए।
उक्त प्रदेशस्तरीय छलफलमा प्रदेशका सबै मन्त्रालयका फोकल पर्सन, जनप्रतिनिधि, प्रदेश भित्रका गैरसरकारी संघसंस्था, नीति तथा योजना आयोगका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि प्रतिनिधि, युनएजेन्सी र पत्रकारलागयतको उपस्थिति थियो।
