क्रोधित अवतारमा फर्किए विराज भट्ट, ‘राम नाम सत्य’ चैत २७ गतेदेखि पर्दामा
धनगढी,नेपाली सिनेमाजगतका चर्चित अभिनेता विराज भट्टको शीर्ष भूमिका रहने बहुप्रतीक्षित फिल्म ‘राम नाम सत्य’को प्रदर्शन मिति आधिकारिक रूपमा घोषणा गरिएको छ। निर्माण पक्षले भट्टको पहिलो झलक सार्वजनिक गर्दै नयाँ वर्ष २०८३ को अवसर पारेर आगामी चैत २७ गतेबाट देशभर प्रदर्शनमा ल्याउने जनाएको हो।
फिल्मको छायांकन आउँदो सातादेखि सुरु हुने बताइएको छ। यसअघि विहीबार ललितपुरमा धार्मिक विधिअनुसार शुभसाइत पूजा गरी निर्माण टिमले छायांकनको औपचारिक सुरुवात गरेको हो।
सार्वजनिक पोस्टरमा विराज भट्ट क्रोधित मुद्रामा देखिएका छन्, जसले फिल्मको कथावस्तुमा रहस्य र रोमाञ्चको आभास दिलाउँछ। एक्शन र भावनात्मक पृष्ठभूमिमा बन्ने भनिएको यस फिल्ममा सुशील श्रेष्ठ, आयुषसिंह ठकुरी, सुपुष्पा भट्ट, दिब्या रायमाझी, खुसी कार्की, सुनिल थापा, अर्पण थापा, कनिज कोइराला, रवि गिरी र दिनेश डीसीको दमदार अभिनय रहनेछ।
निर्माण पक्षका अनुसार ‘राम नाम सत्य’लाई भव्य रूपमा रिलिज गर्ने तयारी भइरहेको छ, जसमा कथा, अभिनय र प्रस्तुतीकरणमार्फत दर्शकलाई नयाँ अनुभव दिने दाबी गरिएको छ।
