जेसिज एभरेष्ट पूर्वविद्यार्थी संघको अध्यक्षमा पुनः खेमराज जोशी, १५ लाखको अक्षयकोषमार्फत विपन्न विद्यार्थीलाई छात्रवृत्ति
धनगढी । जेसिज एभरेष्ट पूर्वविद्यार्थी संघको तेस्रो अधिवेशन तथा साधारणसभाले पुनः खेमराज जोशीलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ। अधिवेशनले जोशीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध गठन गरेको हो।
नवगठित कार्यसमितिमा उपाध्यक्ष अमिता कुँवर, सचिव दीपेन्द्र खड्का, सहसचिव भरत कुँवर, कोषाध्यक्ष संजिता कुँवर रहेका छन् भने सदस्यमा महेश जोशी, सिद्ध वली, भरत खड्का, गणेश ओझा र निरञ्जना सिंह चयन भएका छन्। त्यस्तै, डा. मेराज आलम अन्सारीलाई सल्लाहकार समितिको संयोजक तोकिएको छ।
अधिवेशन विद्यालयका कार्यकारी निर्देशक करुणाकर पाण्डेयको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा नयाँ नेतृत्व चयनसँगै संघको विगत, वर्तमान र भविष्यका गतिविधि र योजनाबारे पनि व्यापक छलफल भएको थियो।
संघले स्थापना कालदेखि नै सामुदायिक र शैक्षिक क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ। विशेषगरी आर्थिक रूपमा कमजोर विद्यार्थीलाई शिक्षा हासिल गर्ने अवसर दिन संघ सक्रिय रहँदै आएको छ। यसै क्रममा, संघले १५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ, जसको आम्दानी प्रयोग गरी विपन्न विद्यार्थीलाई दीर्घकालीन छात्रवृत्ति प्रदान गरिने अपेक्षा गरिएको छ।
नव-निर्वाचित अध्यक्ष खेमराज जोशीले संघलाई अझ प्रभावकारी र क्रियाशील बनाएर विद्यार्थी र विद्यालय दुवैको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार, “शिक्षा नै सबैभन्दा ठूलो सम्पत्ति हो, त्यसैले कुनै पनि विद्यार्थी आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुन नदिन संघ निरन्तर प्रयत्नशील रहनेछ।”
कार्यक्रममा पूर्वविद्यार्थी, शिक्षक, अभिभावक र समाजसेवीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। सहभागीहरूले नयाँ नेतृत्वप्रति विश्वास व्यक्त गर्दै संघले भविष्यमा अझ प्रभावकारी कार्यक्रम ल्याउने अपेक्षा राखेका छन्।
