बेहडाबाबा गंगा दशहरा मेलामा नवनिर्वाचित कैलाली फर्निचर व्यवसायी संघद्वारा अन्नदान
धनगढी । धनगढी उपमहानगरपालिका वडा नं. १६ स्थित प्रसिद्ध धार्मिक स्थल बेहडाबाबामा सञ्चालन भइरहेको गंगा दशहरा मेलामा नेपाल तथा भारतबाट आएका हजारौं श्रद्धालु भक्तजनहरूको सहभागिताले मेलाको रौनक बढाएको छ।मेलामा आउने सन्त, महन्त तथा भक्तजनहरूको सुविधाका लागि विभिन्न संघसंस्थाले सहयोग गर्दै आएका छन्। यसै क्रममा कैलाली फर्निचर तथा फर्निसिङ व्यवसायी संघ द्वारा बेहडाबाबा मन्दिर परिसरमा आयोजित महा-भण्डाराका लागि अन्नदान गरिएको छ।यसै क्रममा बेहडाबाबा मन्दिर परिसरमा आयोजित दशहरा विशेष महा-भण्डारामा कैलाली फर्निचर तथा फर्निसिङ व्यवसायी संघ द्वारा अन्नदान गरिएको छ। संघका अध्यक्ष कमल पाण्डेयले आफूहरू निर्वाचित भएपछि धार्मिक तथा सामाजिक सेवाको भावनासहित बेहडाबाबामा अन्नदान गर्न आएको बताए। अध्यक्ष पाण्डेयले व्यवस्थापन समितिका उपाध्यक्ष नरेन्द्र शाहलाई अन्न सामग्री हस्तान्तरण गरेका हुन्।टाढाटाढाबाट आउने भक्तजनहरूलाई सहयोग पुग्ने उद्देश्यले आयोजना गरिएको महा-भण्डारामा जेठ ९ गते सम्पन्न अधिवेशनबाट निर्वाचित नव-निर्वाचित पदाधिकारी तथा सदस्यहरूले सक्रिय सहभागिता जनाएका हुन्। धार्मिक तथा सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै गरिएको उक्त सेवामूलक कार्यक्रममा संघका पदाधिकारी, व्यवसायी तथा स्थानीय समाजसेवीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रममा संघका पूर्व अध्यक्ष विष्णु दत्त समेत उपस्थित रहेका थिए। उनले नव-निर्वाचित टोलीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सामाजिक तथा धार्मिक कार्यमा निरन्तर सक्रिय रहन आग्रह गरेका थिए।
