मैले नचिनेकाे माटाे !
- केदार कोइराला
(क) यसपाली ५० मुरी धान फल्याे, २० मुरी भकारीमा थन्क्याइयाे, ३० मुरी जितबहादुरले खलाबाटै उठायाे ।
(ख) हरियाे परियाे खान पाएनन् बस्तुले, दुधै परेननि तै पनि याे मैना ४ सय लिटर जति बेचिएछ बुझिस् काइँला ।
(ग) गाेलभेंडामा नयाँ राेग लागेजस्ताे भाे, भनेजस्ताे फलेननि तै पनि घाटा लागेन । यसपालीकाे फाइदा पाेहाेरकाे भन्दा कमै भाे ।
यी प्रतिनिधि घटना मात्रै हुन् । मेराे चेतना र मैले बुझेकाे गाउँघर हाम्राे सामाजिक परिवेस आत्मनिर्भर थियाे । आफैं लडिबुडी खेलेकाे माटाे कति उर्बर थियाे ? त्यही माटाेमा फलेका अन्न खाएर हुर्केका हामी सहर पस्दा जुल्पि र हलुवा स्वारी खान भाेटाहिटी र थपाथलीकाे राम भण्डार पुग्ने हामीलाई लाग्थ्याे सहरका मान्छेले त पेटभरी जुल्पि र हलुवा स्वारी खान्छन् हाेला सधैं ।
जात्रामात्रामा सहर आउने हामीलाई त्यस्तो लाग्नु स्वाभाविक हाे । किनभने गाउँघरमा पेटभरी खाने भनेकाे माेहि र ढिंडाे हाे । भात पनि थाेरै पाक्थ्याे त्याे पनि औसानी हाल्नै पर्ने भएर । केटाकेटी भात खान मरीहत्ते गर्थे, अगाउने गरी भात खान कि त दशैं आउनुपर्थ्याे या श्राद्द । तर हरेक घर परिवार भाेकाे थिएन त्यतिखेर । ज्यालै गरेर भएपनि भरपेट खाएकै हुन्थ्याे । ज्याला र कर्म गर्न जाँदा पनि खाजा खुवाउने चलन मानवियताकाे सर्वाेच्च उदाहरण थियाे । मेहनत र परिश्रमि हातहरूले हाम्रा उर्वर भूमि हराभार पारेका थिए । त्यसैले हामी आत्मनिर्भर थियाैं । सागपात किन्न नपर्ने, अन्न ढुकुटि भरी हुने, भुटुनका लागि आफ्नै बारीकाे ताेरी पेलेर तयार पारेकाे तेल, हातै मग मग बास्ना आउने सिङमाङकाे घिउ सम्झँदै लाेभिनुपर्ने हिजाेकाे हाम्राे दैनिकी कति सहज थियाे ? कति स्वस्थ बर्धक थियाे ? स्मरण मात्रै गराैं त यतिखेर ।
– समाज हामीले बिगार्याैं । आचरण हाम्रै बिग्रियाे । दशथरी राेग हामीलेनै आयात गरेका हाैं, आधुनिकताका नाममा । अनि काेलाहाल किन गर्ने ? मति सुध्रिएकै हाे भने अग्रजले सिकाएर छाेडेकाे सीपकाे सदुपयाेग गराैं । करेसामा रायाे छराैं । खेतबारीका काँदला तासाैं । हह माले ह, हह तारे ह भन्दै हलाे जाेताैं । भाटभटेनी र बिगमार्ट धाउन छाडेर अलिकति मेहनत र परिश्रम गराैं । आफ्नै बारीमा फलेकाे काँक्रा फर्सी, आफैंले गाेडेकाे आलु, आफ्नै अँगालाले झारेकाे धान, आफैंले भाँचेकाे मकै, आफैंले राेपेकाे काेदाे, आफ्नै बारीकाे फापर छँदा छँदै किन खाेज्ने आयतित खाद्यान्न ?
मम, पिजा र काेकमा छाेराछाेरीकाे लत हामीले नै लगायाैं । पाने राेटी, मकैकाे ढिंडाे र माेही किन रूचाउँदैनन् अहिलेका केटाकेटी ? हामीले कहिल्यै ती परिकार अँगेनामा पकाएर छाेराछाेरीलाई खुवायाैं ? त्याे स्वाद जिव्राेमा नपर्दै केटाकेटी पिज्जा र मममा झुम्मिए । ती अवाेध बालबालिकाकाे के गल्ति ? गल्ति त हामीले गर्याैं, सम्पन्नताकाे प्रदर्शनमा पाेसिलाे र ओसिलाे आहार बिहार त्यागेर ढाेंगी बन्याैं । अजिनाे माेटाेले मक्किएकाे हड्डी र आधुनिक खानपानले सुन्निएकाे फाेक्से शरिरमा गर्व गर्न छाडेर अब बेलैमा घरेलु खानपानमा नफर्किने हाे भने हामी र हाम्रा सन्तति दिर्घराेगी हुनुकाे विकल्प छैन ।
– मनन गराैं, जाे जहाँ छाैं बाँजाे खेतबारी खन्न थालाैं । आफ्नै करेसाकाे उर्वर माटाेमा पसिना बगाऔं । घरखेत बन्दक राखेर खाडी छिर्ने सपना देख्न छाडाैं । जतिसुकै धनार्जन गरेकाे धनाढ्य कहलिए पनि धनले केही लछारपाटाे लगाउने हाेइन रैछ । अझै भ्रम हटेकाे छैन भने बिदेशबाट गुंजिएकाे आफ्नै दाजुभाइ, दिदीबहिनिकाे चीत्कार सुनाैं । आफ्नाे घर फर्किन, आफ्नै परिवारकाे काखमा लडिबुडी खेल्न, छिमेकीसँगै रम्न आतुर छन् आज ती बिदेशीएका हाम्रा परिवार । काेराेनाले खाेलिदिएकाे चेत, फेरि एकपटक च्यातिएकाे मनलाई जाेडाैं । गुम्सिएकाे सहरिया जिवनशैली गाउँघरमै फर्काउँ । “मेराे प्याराे ओखलढुंगा” शिद्धिचरण श्रेष्ठले त्यतिबेलै दर्साएकाे जन्मथलाे प्रतिकाे प्रेम उजागर गराैं । “म मरे पनि मेराे देश बाँचिरहाेस्” जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी, याे वाक्यांसकाे व्यापकतालाई सिराेपर गराैं ।
(लेखक कोइराला एभिन्यूज खबरका खबर प्रमुख हुन् ।)
