१९ मंसिर २०७७, शुक्रबार
कोभिड-१९ महामारी : मातृशिशु सेवामा असर र अबको बाटो: अधिकारी
आईतवार, मंसिर ७ १७:२९

कोभिड-१९ महामारी : मातृशिशु सेवामा असर र अबको बाटो: अधिकारी

मुकेश अधिकारी

करिब ३ महिना पहिला १० अगस्ट २०२० मा कोभिड-१९ को महामारीकै दौरानमा प्रसिद्ध ब्रिटिस जर्नल ल्यान्सेन्ट ग्लोबल हेल्थमा कोभिड महामारीको कारणले भएको लकडाउनले नेपालमा करिब ५० प्रतिशत संस्थागत सुत्केरी घटेको र नवशिशुको मृत्युदर पनि करिब २०० प्रतिशतले बढेको भन्ने रिसर्च पेपर प्रकाशित भयो। यो पेपरले नेपालमा कोभिड-१९ को कारणले भएको लकडाउनले गैरकोभिडजन्य स्वास्थ्य सेवमा ठूलो गिरावट आएको र आवश्यक कदमहरु चालिनुपर्ने सुझावहरु दिएको थियो। कोभिड महामारीबीच उक्त अध्ययन गरिनु एकदमै चुनौतीपूर्ण एवं प्रशंसनीय पनि छ।

वास्तवमा अध्ययन नेपालका ९ वटा रेफरल अस्पतालमा भएको र लेखले समेत उक्त तथ्यांकलाई समान्यीकरण गर्न नहुने भने तापनि सामाजिक सञ्जाल लगायतका लगायतका केही सञ्चार माध्यममा नेपालले हालसम्म स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धिहरु गुम्यो भन्ने खालका अतिरन्जित बहसहरु भए।

तर, कोभिड-१९ महामारीले केही दशकदेखि सुधार हुँदै आएका नेपालका मातृशिशु सम्बन्धी सुचकहरु एक्कासि घटेर सारा उपलब्धि एकाएक विलय भएको कुरामाथि थप अध्ययन आवश्यक रहेको ठानेर हामीले यसबारेमा थप अनुसन्धान थाल्यौं। सो अध्ययनका सीमाहरुको बारेमा गहन विश्लेषण गयौं। हामीले स्वास्थ्य सेवा विभागको एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा देशभरिका ४५०० भन्दा बढी स्वास्थ्य संस्थाबाट मासिक रुपमा प्राप्त हुने तथ्यांकबाट लकडाउन पहिलाको ३ महिना र लकडाउनपछिको ३ महिनाको मातृशिशु सम्बन्धी तथ्यांकहरु विश्लेषण गर्‍यौं। अनि सोही ल्यान्सेट जर्नलमा यसरी स्वास्थ्य सेवाका सुचकहरु एकाएक घट्नुका कारणहरु, सो अध्ययनका सीमाहरु र आगामी दिनमा के गर्न सकिन्छ भन्ने बारेको लेख तयार गरेर पेस गर्‍यौं, जुन मुल लेख प्रकाशित भएको करिब ३ महिनापछि नभेम्बर २० तारिख, २०२० मा प्रकाशित भयो।

यस लेखमा हामीले मुल लेखले केही महत्वपूर्ण पक्षहरु समावेश गरेको भए यत्ति धेरै मात्रामा स्वास्थ्य सेवाका सुचकहरुमा कमी आउने थिएन भन्ने तर्क अघि सार्‍यौं। पहिलो कुरा, सो अध्ययन नेपाल सरकारले
कोभिड हब अस्पताल घोषणा गरेका अस्पताहरुमा भएको थियो। स्वभाविक छ, सुत्केरी हुन चाहने महिलाहरु थाहा पाइपाई कोभिड अस्पतालमा जाँदा आफूलाई कोरोना भाइरस सर्न सक्ने र समाजमा पनि आफूलाई कोभिड संक्रमित हो भनि आशंका गर्ने भएको हुँदा सुत्केरी गराउने दर कम भएको हुनसक्छ।

हामीले नेपालका सम्पूर्ण सरकारी तथा गैरसरकारी संस्था जसले सरकारलाई सेवाको रिपोर्ट गर्छन् ती सम्पूर्ण संस्थाहरुके लकडाउन पहिला र लकडाउन पछिको सुत्केरी हुने दर अध्ययन गर्दा सुत्केरी हुने दर
३१.८ प्रतिशतले घटेको पायौं तर सोही समयको अन्तरालमा कोभिड महामारी नभएको अघिल्लो वर्ष (सन् २०१९) मा पनि सुत्केरी सेवा करिब २४.२ प्रतिशतले घटेको देखियो।

महत्वपूर्ण कुरा, अध्ययनले सुत्केरी महिलाको बासस्थानबाट अस्तपालसम्मको दूरीलाई समावेश गरेको देखिएन। अन्तर जिल्लाको यातायात सुचारु नभएको र महिलाहरु जिल्लाको सिमाना पार गरेर रेफरल अस्पतालमा जानुभन्दा घर नजिकैको स्वास्थ्य चौकी वा प्राथमिक स्वास्थ्य केन्द्रमा गएको हुनसक्छ। जुन कुरा हामीले स्वास्थ्य संस्थाबाट प्राप्त प्रतिवेदन विश्लेषण गर्दा स्थानीय स्तरका स्वाथ्य संस्थामा विस्तारै सुत्केरी सेवा चैत्त २०७६ पछि बढ्दै गरेको पायौं।

तसर्थ, मुल अध्ययन आफैंमा एकदमै महत्वपूर्ण भए तापनि अध्ययनमा केही पक्षहरु समावेश नगरिएको हुँदा त्यसका तथ्यांकहरुलाई व्याख्या र समान्यीकरण गर्दा हामीले उल्लेख गरेका महत्वपूर्ण पक्षहरुलाई सोच्नुपर्ने देखिन्छ।

तर, यत्ति भनिराख्दा कोभिड-१९ महामारीले मातृशिशु सेवा लगायत अन्य ननकोभिडजन्य स्वास्थ्य सेवमा कमी आएको छैन भन्ने हाम्रो तर्क होइन। सेवा लिने सेवाग्राहीको संख्या घटेको कुरा मुल अध्ययन तथा हाम्रो अध्ययनले पनि प्रष्ट पारेको छ।

वास्तवमा कोभिड-१९ महामारीले नेपालको प्राथमिक स्वास्थ्य सेवामा अझै बढी लगानी गर्नुपर्ने टड्कारो आवश्यकता छर्लङ्ग पारेको छ। स्थानीय तहमा रहेका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र अनि विशेषगरी स्थानीय वा जिल्ला अस्पतालहरुलाई थप मजबुत एवं सुदृढ बनाउनुपर्ने कुरामा दीर्घकालीन पहन थालिनु अत्यन्त आवश्यक छ। साथै स्वास्थ्य सेवाको पहुँच मात्र होइन यसको गुणस्तरीयतालाई मापन गर्ने र निरन्तर सुधार गर्ने विषय अति नै महत्वपूर्ण छ। सेवा विस्तार गर्दा कस्ट इफेक्टिभेनसको विश्लेषण गरिनुपर्छ।

मुख्य कुरा, स्वास्थ्य सुधारको दरिलो राजनीतिक प्रतिवद्धता र त्यसको कार्यान्वयन आजको टड्कारो आवश्यकता हो। कोभिड-१९ को महामारी त विस्तारै भ्याक्सिनको विकास र प्रयोगले कम होला तर स्वास्थ्य क्षेत्र सुदृढ बनाउन सकिएन भने फेरि आउने अर्को महामारी तथा अन्य विपदले नेपालको स्वास्थ्य क्षेत्रको उपलब्धि, अर्थतन्त्र अनि समग्र विकासलाई पछि पार्ने निश्चित देखिन्छ।

(अधिकारी स्वास्थ्य सेवा विभागमा वरिष्ठ जनस्वास्थ्य अधिकृत हुन् र उनी संग्लन ल्यान्सेटको लेखमा दीपक झा,  डा झलक शर्मा गौतम,  डा भीमसिंह तिकंरी, शिवराज मिश्र र रेशमबहादुर खत्रीको संग्लनता रहेको थियो।)स
भाार स्वास्थ्य खबर






Sharing is caring!

डोटी घर बताउने महिला कैलालीको जंगलमा फेला परिन
आईतवार, मंसिर ७ १७:२९
पर्सामा चिसो बढे सङ्गै ठोरीको पर्यटकिय स्थल तथा पिकनिक स्पोर्ट्समा चहलपहल सुरु
आईतवार, मंसिर ७ १७:२९
shares